प्रचण्डले खुलाए केपी ओलीमाथि १९ पेजको विरोधपत्र लेख्नुको कारण

प्रचण्डले खुलाए केपी ओलीमाथि १९ पेजको विरोधपत्र लेख्नुको कारण

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्न परेपनि तयार भएर केपी प्रवृत्तिमाथि प्रहार गरेको बताएका छन्।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान तथा मर्न परे पनि तयार रहेर केपी प्रवृत्तिमाथि प्रहार गरेको बताएका हुन् । केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभूति भएको उनको भनाइ छ ।  

देशको राजनीतिक परिवर्तनमाथि षडयन्त्रले हमला भइराखेको भन्दै उनले सजग भएर त्यस विरुद्ध आफ्नै खुट्टामा उभिएर लड्नु पर्ने बताए । अरुसँग एकिकृत हुँदा आफ्ना साथीहरु छुटेर कमजोर देखिएको भन्दै उनले आगामी दिनमा पुराना साथीहरु एकताबद्ध गरेर अगाडि बढ्ने बताए। 

उनले भने,–‘अब अहिले देशको परिस्थिती अलिकति जटिल छ । चुनौतीपूर्ण छ। मैले भनेकै थिएँ, केपी प्रवृत्तिका विरुद्ध मैले १९ पेजको डकुमेन्ट लेख्दै गर्दा मैले साँच्चै नयाँ परिस्थितीमा फेरि अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभूति मलाई भएकै थियो भएकै छ । र त्यसले चिनियाँ आन्दोलनमा बमबार्द द हेडक्वाटर भन्ने हामी सबैले हिजो पढ्थ्यौँ नि । बुर्जुवा हेडक्वाटरमा बम बर्साउ । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, षडयन्त्रकारी लिडरशिपमाथि बम बर्साउ भन्या हो। मैले केपी प्रवृतिका विरुद्ध जानि बुझि यो सँग अब सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म अब फेरि जेल जान परे पनि तयार, मर्न परे पनि तयार तर यो प्रवृत्तिमाथि प्रहार गर्नै पर्छ भनेर गरेको हो। तपाईंहरुले सायद त्यो पढ्नु भएको छ होला । त्यो अहिले युद्ध भएर हिंसामा जाने कुरा त त्यहाँ मैले गरेको पनि होइन । अहिले नै त्यो परिस्थिति पनि होइन । तर जसरी युद्ध भनेको हिंसा सहितको राजनीति हो हामीले गरेको त राजनीति थियो नि त युद्धमा पनि । 

सामन्तवादका विरुद्ध, निरंकुशतन्त्रका विरुद्धको राजनीति गरेको हो युद्ध मार्फत । अहिले फेरि शान्तिमार्फत हामीले युद्ध गरेको हो । प्रतिक्रियावादी विचारका विरुद्ध, प्रवृत्तिका विरुद्ध, दक्षिणपन्थका विरुद्ध, फेरि एउटा नयाँ युद्ध गरेकै हो । त्यो युद्ध अहिले चलिराखेको छ कमरेडहरु । त्यो युद्ध अहिले चलिराखेकै छ। हामीले संसद विघटनका विरुद्धको यो संविधान खारेज गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नै खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौँ। र त्यो ब्याटल त हामीले जित्यौँ तर हामीले वार चाहिँ जितेका छैनौँ । अझैपनि ठूल्ठूला षडयन्त्र भइराख्या छन् । तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ। त्यसकारण हामी सबै सजग भएर फेरि एकपटक आफ्नै खुट्टामा उभिने । हामीले यो सँग मिले होला कि त्यो सँग मिले होला कि यो गरे होला कि त्यो गरे होला कि भनेर धेरै गरियो । तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल चाहीँ कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै पनि हो । अहिले फेरि हामी आफ्नो धरतीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुलाई एकताबद्ध गर्ने । अब सबै क्रान्तिहरु माथि नै भरपर्ने । क्रान्तिकारी विचार र क्रान्तिकारी साथीहरु माथि नै भर परेर मात्रै यो लडाइँ जित्छौँ भन्ने विश्वासले नै मैले नयाँ जनयुद्ध शुरु गरेको पनि हो ।’

अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धी र आन्दोलनको रक्षाको निम्ति आफूले देशव्यापी अभियान चलाउने समेत बताए। दुईचार वर्ष जनताको बिचमा गएर अभियान सञ्चालन गर्ने उनको भनाइ छ । उनले भने, – ‘फेरि जनतासँग जोडिने, फेरि देशव्यापी अभियान चलाउने तिर मैले सोचिराखेको छु । म काठमाडौं भन्दा अभियानमा बढी बस्ने विचार छ। फेरि दुईचार वर्ष जनताको विचमा गएर किनभने प्रतिक्रियावादी देश भित्र र बाहिरकाले निकै ठूलो षडयन्त्र हाम्रा राष्ट्रका विरुद्ध, हाम्रो आन्दोलनका विरुद्ध, हाम्रा उपलब्धी, परिवर्तन र उपलब्धीमाथि धावा बोल्ने कोसिस गरेका छन् त्यसलाई परास्त गर्नुछ । मलाई विश्वास छ, हामीले परास्त गरिन्छ। हामीले आफ्नै धरतीमा टेकेर मात्रै परास्त गर्न सकिन्छ। हामी आफ्नै शक्तिमा भर परेर मात्रै परास्त गर्न सकिन्छ। हामी देशका सबै सहर बजारका टोल टोल गल्ली गल्ली र गाउँघर पाखा पखेरा सबैतिर मजदूर किसान जसरी हिजो हामीले दलित, महिला, मुस्लीम आदीबासी जनजाती, मधेसी सबै वर्ग तहतप्काका जनतालाई अधिकार सम्पन्न गर्ने लडाइँ लड्यौँ र हामीले जित्यौँ । हामी फेरि एकचोटी अभियान चलायौँ भने अहिले युद्ध गर्नुपर्ने स्थिति छैन। अहिले शान्तिपूर्ण ढंगले नै हामी आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलायौँ भने प्रतिक्रियावादीहरु परास्त हुन्छन्। हामी जित्छौँ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले उमेरको कारणले आफू पछि नहट्ने पनि बताए। अझैपनि क्रान्तिमा अगाडि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले आफूले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पारे। अध्यक्ष प्रचण्डले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित स्थान दिएर राखिने पनि बताए। आगामी केन्द्रीय समितिको बैठकले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताए।

Logo