आदेश नआउँदा विप्लव समूहका नेता अझै छुटेनन्

आदेश नआउँदा विप्लव समूहका नेता अझै छुटेनन्

केन्द्रबिन्दु
0
Shares

सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् । 

चन्द समूहका नेता/कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको जिल्ला कारगारका प्रमुख धनबहादुर घर्तीले बताए। कारागारमा चन्द समूहका जिल्ला कमिटी सदस्यहरू सागर शाही (बाजिलाल), जोगबहादुर कठायत, देवदत्त अवस्थी र राजेश थापा तथा साधारण सदस्य लक्ष्मण सिंह गरी जम्मा पाँच जना जिल्ला कारागार बझाङमा रहेको प्रमुख घर्तीले जानकारी दिए । 

चन्द समूहको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहले परिपत्र गरेको थियो । चन्द समूहका जिल्ला कमिटी सदस्य शाही विसं २०७६ चैत २ गते बझाङको थलारा गाउँपालिकाबाट पक्राउ परेका थिए भने कठायत २०७७ मङ्सिर २७ गते धनगढीबाट, थापा २०७७ असोज ६ गते, सिंह २०७६ पुस ८ गते बुङ्गल नगरपालिकाबाट र अवस्थी २०७६ असोज २४ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत बझाङले तीन जनालाई चन्दा असुली, हातहतियार खरखजना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो  भने थापालाई थप दुई बहुविवाह तथा चोरी मुद्दासमेत लगाएको छ। सिंहलाई पनि ज्यान उद्योग मुद्दा लागेको कारागार प्रमुख घर्तीले जानकारी दिए। यता सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने जिल्ला कारागार बझाङमा चन्द समूहका पाँच नेता कार्यकर्ता रहेको र उनीहरूको मुद्दा जिल्ला प्रशासन कार्यलयमा नभएकाले केही समय लाग्न सक्ने बताए।रासस

Skip This
Skip This
Logo