बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले आज त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गरेकी छिन्। बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बङ्बन्धुलाई हत्या गरिएको घरसमेतलाई सङ्ग्रहालय बनाइएको छ। 

बङ्गलादेशका पहिलो राष्ट्रपति र पछि सन् १९७१ मा प्रधानमन्त्री भएका मुजिबरको १९७५ अगष्ट १५ मा हत्या गरिएको थियो। राष्ट्रपति भण्डारीले त्यहाँस्थित बङ्गबन्धुका शालिकमा श्रद्धाञ्जली व्यक्त गर्नाका साथै सङ्ग्रहालयद्वारा निर्मित भिडियो वृत्तचित्र अवलोकन गरेकी थिइन्। उनले सङ्ग्राहलयको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरिन्। 

सो अवसरमा भ्रमण दलमा सहभागी राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायत उपस्थित थिए । 

राष्ट्रपति भण्डारी बङ्गलादेशका लागि नेपाली राजदूतावासले अपराह्न आयोजना गर्ने स्वागत समारोहमा सरीक भई आजै स्वादेश फर्कने कार्यक्रम छ। 

बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुगेकी हुन् । राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गरेकी थिइन्।रासस

Logo