‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सरकार क्रियाशील छ : मन्त्री गुरुङ

‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सरकार क्रियाशील छ : मन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न वर्तमान सरकार क्रियाशील भएर काम गरिरहेको बताएका छन्।

दोलखाको खरिढुङ्गा खेल मैदानमा आयोजित ‘दोलखा जिल्ला नकआउट फुटबल प्रतियोगिता’ को शनिबार समापन समारोहमा उनले भने, “मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार दृढतापूर्वक लागि परेको छ।” 

मन्त्री गुरुङले खेलकूद क्षेत्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै दोखलाको खरिढुङ्गा खेलकूद मैदानलाई राष्ट्रियस्तरको खेल मैदानका रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले त्यसका लागि डिपीआर तयार भएमा आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गर्न सक्ने उल्लेख गर्दै दोलखाको खरिढुङ्गा र डाँडडुङे डाँडा पर्यटकीय दृष्टिकोणले पनि आकर्षक गन्तव्य रहेको बताए।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले २६ सय मिटर उचाईमा रहेको खरिढुङ्गामा राष्ट्रियस्तरको खेलकूद मैदान बनाउन उपयुक्त हुने सुुझाव दिए। दोलखा फुटबल सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा विगु गाउँपालिकास्थित तीनपोखरी युवा क्लब विजयी भएको छ। 

सो अवसरमा मन्त्री गुरुङले विजयी क्लबलाई नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे। त्यसैगरी उनले उपविजेता राजहिटी क्लब दोलखालाई नगद १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरे।रासस

Logo