प्रधानमन्त्रीले सडक शिलान्यास गरेर तमासा देखाए : माधव नेपाल (भिडियोसहित)

प्रधानमन्त्रीले सडक शिलान्यास गरेर तमासा देखाए : माधव नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ। एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभए मुलुकभर समानान्तर गतिविधि सञ्चालन गर्ने यो समूहको निर्णय अनुसार कमिटी घोषणा गरको हो। यसैबीच नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर तमासा गरेको टिप्पणी गरेका छन्। 

नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ–(एन्फा) ले उनलाई तत्काल लागू हुने गरि राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो। एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ।

शेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४० दिन अघिको २६४०.३५ अंकलाई उछिन्दै अघि बढेको छ। साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले बढेर २६५७.६१ अंकमा पुगेको छ। नेप्से सूचक उच्च विन्दुमा पुगेसँगै कारोबार रकममा पनि सुधार आएको छ। आइतबार ९ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ। यद्यपी कारोबार रकमले भने यसअघिको उच्चतालाई तोड्न सकेको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्। आयोजना पिच्छे के कति काम भइरहेको छ भन्ने सम्बन्धमा प्रभावकारी अनुगमन गर्नुपर्ने तथा मानवीय त्रुटिका कारण कतिपय आयोजनाको काम अगाडि बढ्न नसकेको पाइएकाले त्यसतर्फ पनि ध्यान दिन मन्त्री नेम्बाङले निर्देशन दिएका छन्।

भारतको छत्तिसगढ राज्यमा नक्सलवादीसँग भएको मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ। शनिबार दिउँसो ४ घण्टासम्म चलेको दोहोरो भिडन्तका क्रममा ३२ जना घाइते भएका र एकजना हराइरहेका टाइम्स अफ इन्डियाले जनाएको छ। शुक्रबार राति नक्सलवादीविरुद्ध चलाइएको कारबाहीमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका थिए।

Logo