वैकल्पिक सरकार गठनबारे आज जसपा र माओवादीसँग कांग्रेसको निर्णायक छलफल हुँदै

वैकल्पिक सरकार गठनबारे आज जसपा र माओवादीसँग कांग्रेसको निर्णायक छलफल हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच वैकल्पिक सरकार गठनबारे शुक्रबार निर्णायक छलफल हुने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहित दुबै तर्फका नेताहरुलाई छलफलका लागि पार्टी कार्यालय सानेपामा बोलाएका हुन्।

तीन दलबीच हुने बैठकमा संसद पुनर्स्थापनापछिको राजनीतिक शुन्यता, वैकल्पिक सरकार गठनको सम्भावना र सत्ता साझेदारीबारे छलफल हुने बताइएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्‍त्री केपी ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो। तर अहिलेसम्म ठोस रुपमा संवाद हुन सकेको छैन।

आन्तरिक दबाबमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको राजीनामा माग्‍ने औपचारिक निर्णय गर्न तयार भए पनि नयाँ समीकरण बनाउन विश्‍वसनीय वातावरण अझै नबनेको भन्दै देउवा मौन बसेका थिए।

संसदको नयाँ अंकगणितमा  निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टी(जसपा)ले अहिलेसम्म कुनै संस्थागत निर्णय गरेको छैन। दुवै पक्षले जसपालाई आफूतिर तान्‍ने कोसिस गरिरहेका छन् र फकाउने प्रयास भइरहेको छ। कांग्रेससँगको सम्वाद झारा टार्ने खालको छ तर बालुवाटारसँग छलफल भने अलि हार्दिक र गहिरो हुँदै गएको छ।

सत्ता साझेदारीका लागि बालुवाटारसँग नजिकिएको जसपा पनि कांग्रेसको निर्णयपछि थोरै 'ब्याक' भएको छ। कांग्रेसको झारा टार्ने निर्णय र एमालेभित्रको चरम अन्तरकहललाई विश्लेषण गर्दै जसपा पनि पर्ख र हेरको रणनीतिमा देखिन्छ। तर उसको सहयोग बिना न  ओली सुरक्षित हुनेछन् न त वैकल्पिक सरकार बन्‍नेछ। उ कतै नलागेर तटस्थ बसिदियो भने स्वभाविक रुपमा फेरि चुनावमै मुलुक फर्किनुपर्ने अवस्था आउने देखिन्छ। 

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्‍न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। यसमा केही निलम्वित र केही निधनले गर्दा रिक्त छन्। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६्३ (२ निलम्वित), माओवादी केन्द्रका ४८ (सभामुख मतदान गर्न नमिल्ने र चारजना रिक्त) र जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्‍त्र हैसियतमा छन्। ओलीलाई सुरक्षित हुन सिंगो जसपा पनि आवश्यक पर्दैन। १७ मत मात्रै भए ओली सुरक्षित हुन्छन्। त्यसैले सकेसम्म सिंगै जसपासँग सहकार्य गर्ने र त्यो संभव नभए फुटाएर भए पनि आवश्यक संख्य जुटाउने रणनीतिमा बालुवाटार छ।अन्नपूर्णबाट

Logo