केन्द्रबिन्दु बुलेटिन : सरकारको विकल्प खोज्नेहरू ‘सकुनी’ हुन् : प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सरकारको विकल्प खोज्नेहरू ‘सकुनी’ हुन् : प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको बताएका छन्। उनले विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई “सकुनी”को संज्ञा दिएका छन्। प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्ट र नेपालमा बढ्दो संक्रमणका बीच सचेतता नअपनाईए भने फेरि पनि लकडाउनमा जानुपर्ने हुनसक्ने चेतावनी दिएका छन्।

अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ । गोलकिपर राजाबाबु थापाको उत्कृष्ट खेलको प्रदर्शबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जीत निकाल्दै उपाधि उचाल्न सफल भएको हो । यससँगै संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डकपको १९औं संस्करणको उपाधि उचाल्न सफल भएको हो। टाई–ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले अवसरको सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरेका थिए। 

नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व पाएको छ। गत बुधबार सम्पन्न निर्वाचनपछि आज अर्थात् शनिबार त्यसको नतिजा सार्वजनिक भएसँगै महासंघले नयाँ नेतृत्व पाएको हो। महासंघको नयाँ नेतृत्वमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेलसहितको टिम आएको हो। जीतपछि पोखरेलले अबका दिनमा महासंघको नीति निर्माण प्रक्रियामा दलीय प्रभाव पर्न नदिने बताएका छन्।

कुर्था–जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा सुरु हुन सकेको छैन। भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो। सो खण्डमा सञ्चालनका लागि सरकारले खरिद गरेको रेल ६ महिना पहिले आइपुगेको थियो। रेल र कम्पनीका सामग्री सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको हुने बताइएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानुनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताएका छन् । त्यसका विरुद्ध अब, मोर्चाबन्दी गरेर अघि बढ्नु पर्ने प्रचण्डको भनाइ छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निजामती कर्मचारी ऐन पनि प्रधानमन्त्रीले नै रोकेको आरोप लगाएका छन्। 

Logo