ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको छ: कांग्रेस नेता सिंह

ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको छ: कांग्रेस नेता सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन्।

नेपाली कांग्रेस चितवन खैरहनि नगर समितिले आज चितवनमा  आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनका लागि नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् ।

‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने अवस्था छ।’ उनले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। ओलीले नैतिक, राजनैतिक तबरले प्रधानमन्त्री हुने वैधानिकता गुमाए। ओलीले तत्काल राजीनामा दिनु पर्छ।’

साथै नेता सिंहले नेपालमा लोकतन्त्र जोगाउनका लागि कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिवेशन समयमै हुनुपर्ने बताए। ‘नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधैं महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो। राणा शासन हटाउनेदेखि प्रजातन्त्र स्थापना र संविधान निर्माणमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।’ उनको भनाइ थियो।

सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सिमित गरेको भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको दाबी छ। लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्ने हुँदा अहिले नेपाली कांग्रेसले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निर्माणमा अग्रसरता लिएको उनको भनाइ छ।

फरक प्रशंगमा बोल्दै पार्टीको अधिवेशन निर्धारित समयमा हर हालतमा गर्नुको विकल्प नरहेको भन्दै पार्टी विधानको गलत प्रयोग गरेर असहज परिस्थितिमा प्रयोग गरिने विधानका विशेष धारा कायम नगरेर गलत प्रयोग भएको समेत बताए । पार्टी बिधि र पद्धतिमा चलाउनु नसक्नु अहिलेको नेतृत्वको कमजोरी रहेको भन्दै पार्टीभित्र सबैले आआफ्नो हैसियत र औकातभित्र रहनु पर्ने भन्दै गलत नेतृत्व चयन भए कांग्रेसको अस्तित्व समाप्त हुने भन्दै सुझबुझ प्रयोग गर्न कार्यकर्तालाई अपिलसमेत गरेका छन् । 

पार्टीभित्र पुराना इमान्दार नेता कार्यकर्ताको अवमूल्यन गरिएकाले पार्टीको यो दुरावस्था आएको बताएका छन् । नयाँ वर्षले बलियो विधिसम्मत चल्ने जनताको प्रिय पार्टी बनाउन सबैलाई सद्वुद्धि आओस् भन्दै नयाँ वर्षको शुभकामनासमेत व्यक्त गरेका छन् ।

Logo