बुलेटिन: गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता (भिडियोसहित)

बुलेटिन: गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। संसदमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। तीन जना सांसद रहेको राष्ट्रिय जनमोर्चा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार संकटमा परेको छ। जनमोर्चाले कांग्रेस र माओवादीलाई सहयोग गर्ने जनाएसँगै उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। सरकार संकटमा परे लगत्तै गए राति गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूमि सूचना पद्धति (नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको बिहीबार शुभारम्भ गरेका छन्। शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले देशमा सकभर आफैँले प्रविधिको विकास गर्ने र नसके अरु देशबाट लिएर भएपनि प्रविधिको विकास गर्ने दावी गरे। यस्तै उनले निर्माणाधिन माथिल्लो तामाकोशी परियोजनाको अस्वभाविक ढिलाइले दैनिक १३ करोड नोक्सान भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसलाई कडा निगरानीमा राख्नेसमेत बताए।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढ्दा यसको असर सीमा नाका क्षेत्रका जिल्लासहित सिंगो नेपाललाई नै परेको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोनाको दोस्रो लहर आएसँगै दिनहुँ संक्रमितको संख्या बढिरहेको छ भने, मृतकको संख्या पनि बढिरहेको छ। यस्तो अवस्थामा नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारदेखि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले भारतबाट आउनेहरूलाई सीमानाकामा कडाइदेखि मास्क नलगाई आवतजावन गर्नेहरूलाई समेत कारवाही गर्ने निर्णय गरेको छ। 

संघीय निजामती सेवा विधेयकका केही प्रावधानबारे असन्तुष्ट नायब सुब्बा पदका कर्मचारीहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्। बिहीबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर कर्मचारीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। उनीहरुले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) मा पदपूर्तिको व्यवस्थाप्रति पनि विरोध जनाएका छन्। सो श्रेणीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

नयाँ वर्ष २०७८ को पहिलो कारोबारको दिन शेयर बजार मापक नेप्सेले नयाँ कीर्तीमान बनाएको छ। नेप्से २० अंकले बढेर २ हजार ७३५ बिन्दुमा पुगेर हालसम्मकै उच्च विन्दुको रेकर्ड कायम भएको हो। गत मंगलबार वर्षको अन्तिम दिन २ हजार ७१४.७९ विन्दुमा पुगेको थियो। नेप्से सूचक उच्च वृद्धि भएसँगै आज कारोबार रकममा समेत वृद्धि भएको छ। बिहिबार २१८ कम्पनीको कारोबार भएको थियो। जसमा ९५ हजार ७३७ पटकको कारोबारमा एक करोड ९० लाख कित्ता शेयर ८ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।

Logo