केन्द्रबिन्दु बुलेटिन : राष्ट्रिय सभा उपनिर्वाचन जेठ ६ गते हुने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : राष्ट्रिय सभा उपनिर्वाचन जेठ ६ गते हुने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ। उपनिर्वाचनका लागि दल दर्ता गर्ने समयावधि वैशाख १० देखि १४ सम्म निर्धारण गरिएको छ। वागमती प्रदेशबाट निर्वाचित सांसद थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो। राष्ट्रियसभाको रिक्त स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण बिहीबारदेखि नै उपनिर्वाचनको तयारी सुरू भएको निर्वाचन आयोगले जनाएको हो। 

नेपाल शीर्ष स्थानमा रहदै घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो। नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो।

वैशाख १५ गतेदेखि खुलामञ्चमा रहेको बसपार्क हट्ने भएको छ। बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो। खुलामञ्च खाली गराई त्यहाँका संरचना हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ । खुल्लामञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको महानगरको भनाई छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ। युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको हो। गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जना सम्मलाई सार्न सक्ने देखिएकाले अधिक सर्तकता अपनाउनु पर्ने मन्त्रालयको भनाइ छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निलम्वित नेताहरू माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज अध्यक्ष ओलीविरुद्ध रिट दर्ता गराएका हुन्। उनीहरूले सांसद पद नरहने गरी कारबाही गर्न अध्यक्ष ओलीले तयारी गरेपछि त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका हुन्। सर्वोच्चले रिटको पेसी आगामी आइतबारका लागि तोकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन्। अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतविधिलाई मान्यता दिन नसकिने र नेताहरुलाई सम्झाउन बुझाउन आफूले गरिरहेको प्रयास पार्टीलाई बलियो बनाउन रहेको पनि स्पस्ट पारेका छन्। यता, बुधबार बिहिबार अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच पार्टीको आन्तरिक विवाद समाधानका लागि भेटवार्ता सम्पन्न भए पनि उल्लेख्य प्रगति हुन नसकेको बताइएको छ। बिहिबारको २ घन्टा लामो वार्तापछि नेता नेपालले पत्रकारहरुलाई संक्षिप्त प्रतिकृया दिँदै वार्तामा कुनै प्रगति नभएको जनाएका छन्।

Logo