गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि सोमबारदेखि छलफल हुने

गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि सोमबारदेखि छलफल हुने


गण्डकी प्रदेशको सोमबारदेखि सञ्चालन हुने विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएको छ।

प्रदेश सचिव हरिराज पोखरेलले प्रस्तावमाथिको छलफलमा प्रत्येक सांसदहरूलाई १० मिनेट बोल्न दिने तयारी भएको बताए।

उनका अनुसार बोल्न चाहने सांसदहरूले सोमबार दिउँसो १ बजेसम्म संसद् सचिवालयमा नाम टिपाइसक्नु पर्ने कार्यसूची रहेको छ। त्यसपछि दिउँसो दुई बजेदेखि भने संसद्को विशेष अधिवेशन सुरु हुनेछ।

मंगलबार मध्यान्ह १२ः१५ बजेदेखि भने सांसदहरूले अविश्वासको प्रस्तावबारे धारणा राख्ने छन्। हालसम्म मतदानमा जाने कि प्रस्ताव फिर्ता लिनेबारे टुङ्गो लागेको छैन।

वैशाख २ गते मुख्यमन्त्री गुरूङविरुद्ध प्रदेश सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । दर्ता गर्ने दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपाका दुई सांसद) हुन्।

अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि मुख्यमन्त्री गुरूङले प्रदेश संसद्को हिउँदे अधिवेशन वैशाख १ को मध्यरातमा अन्त्य गराएका थिए।

प्रदेश संसद्मा नेपाली कांग्रेसको १५ सांसद छन्। माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जना अविश्वासको प्रस्तावको पक्षमा छन्।

प्रदेशमा कूल ६० सांसद छन्। विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री गुरूङलाई ३१ मत आवश्यक पर्छ।

गण्डकीमा ‘फ्लोर क्रस’ को सम्भावना

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले केही प्रदेशमा पार्टीका सांसदहरूले ‘फ्लोर क्रस’ गर्ने सूचना प्राप्त भएको बताए।

उनले प्रदेश भने तोकेनन्। तैपनि स्पष्ट छ कि गण्डकी प्रदेशमा कर्णाली प्रदेशमा जसरी पार्टीबाट निलम्वित नेता माधवकुमार नेपालपक्षीय सांसदहरूले ‘फ्लोर क्रस’ गर्ने सम्भावना छ।

त्यहाँ नेपालपक्षीय तीन जना सांसदहरूले ‘फ्लोर क्रस’ गरे गुरूङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्ने छ।

तर, त्यहाँ नेपालपक्षीय कति सांसद छन्? सङ्ख्या स्पष्ट भइसकेको छैन।
अविश्वासको प्रस्ताव दर्ता गराएका दलहरूले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका छन्।

यी दलहरूले यसअघि लुम्बिनी प्रदेशमा पनि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

तर, जसपाका ६ मध्ये ४ जना सांसद त्यहाँका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि अविश्वासको प्रस्तावकर्ता दलहरू पछाडि सर्नु परेको थियो।

Logo