नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफूहरुको अभियान बन्द नहुने बताएका छन्।
बुधबार नेकपा (एमाले) माधव समूहका नेताहरुको छलफलपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिंदै नेता रावलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित गरेको गतिविधिका विरुद्ध देशव्यापीरुपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफूहरुको अभियान जारी रहने बताएका हुन्।
उनले भने,– ‘उहाँले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा (एमाले) को विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नु भो । कथित आयोजक कमिटी बनाउनु भो, महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टिकरण सोध्ने यी जति पनि गतिविधि गर्नुभएको छ यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन्। र यसको विरुद्धमा देशव्यापीरुपमा कार्यकर्तालाई नेकपा (एमाले) को सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएका छौँ त्यो सफलताको साथ अघि बढिरहेको छ। हामीले यसलाई जारी राख्नुपर्छ। जबसम्म पार्टीको विधान मिच्ने केपी शर्मा ओलीजीका क्रियाकलाप बन्द हुँदैनन्, त्यसलाई सच्याइँदैन, तबसम्म हामी अघि बढ्नुपर्छ भन्ने कुरालाई पुर्न पुष्टि गरेका छौँ।’
नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको बताए। सरकारले प्रभावकारी काम गर्नको लागि आव्हान गर्ने निर्णय आफूहरुको भेलाले गरेको उनको भनाइ छ।
नेता रावलले अध्यक्ष ओलीले आफूहरुलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताए। नेपालको कानुन बमोजिम ओलीले आफूलाई कारबाही गर्न नसक्ने उनको भनाइ छ।





























प्रतिक्रिया