कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग

कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ। 

कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नुको सट्टा विद्यमान स्वास्थ्य प्रणालीले कोरोना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरेको, सत्तामा केन्द्रित रहेको तथा मूल्यवृद्धि र कालोबजारी गर्ने कार्यलाई रोक्न नसकेको आरोप लगाएको छ।  

विभाग प्रमुख गोपालमान श्रेष्ठले आज विज्ञप्तिमार्फत भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य कक्ष स्थापना गरी सबैको कोरोनाको परीक्षण गर्न, संक्रमण देखिएकालाई आइसोलेशनमा राखी उचित व्यवस्थापन गर्न र सबै स्थानीय तहसँगको समन्वयमा कन्टयाक ट्रेसिङलाई निरन्तरता दिन माग गरे।

स्थानीय र प्रदेश तहसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल शय्या, सघन उपचार कक्ष शय्या, आइसोलेशन केन्द्र, क्वारेन्टिन र  होर्डिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्न विभागको सुझाव छ। साथै केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड–१९ र साना अस्पताललाई ननकोभिड–१९ अस्पतालका रुपमा विकसित गरी आवश्यक उपचार र जीवनरक्षक औषधिको प्रबन्ध गर्न माग गरिएको छ।

कांग्रेस नेता श्रेष्ठले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र संघ, प्रदेश र स्थानीय तहका समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्। महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायत सबैलाई बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न माग गरिएको छ।

Logo