गण्डकी प्रदेशसभाको बैठक वैशाख २७ गते

गण्डकी प्रदेशसभाको बैठक वैशाख २७ गते


गण्डकी प्रदेशसभाको बैठक वैशाख २७ गते बिहान ११ बजे बस्ने भएको छ। बैठकमा कोरोना संक्रमण भएका सांसदहरूलाई भिन्नै स्थानमा राखिने निर्णय भएको कार्यव्यवस्था परामर्श समितिका सदस्य कुमार खड्काले बताए।

संक्रमित सांसदहरूलाई मतदानमा सहभागी गराउने यसअघि नै निर्णय भइसकेको छ। तर, उनीहरू बोल्न भने नपाउने भनिएको छ।

यसअघि यही वैशाख १५ गते प्रदेश संसद्मा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्ष÷विपक्षमा मतदानको कार्यसूची थियो।

उक्त दिन जनमोर्चाका सांसद खिमविक्रम शाही वेपत्ता भएपछि उक्त पार्टीकी सचेतक प्यारी थापाले सांसद शाहीको खोजी गरिदिन भन्दै बैठक स्थगन गर्न माग गरेकी थिइन्।

त्यसपछि सभामुख नेत्रप्रसाद अधिकारीले बैठक स्थगित गरेका थिए। पछि उनी चिरक अस्पतालमा भेटिएका थिए।

उनलाई कोरोना संक्रमण भएको भनिएको छ। तर, कोरोना संक्रमणप्रति शाहीकै दलसँगै कांग्रेस, माओवादी र जसपाले शंका व्यक्त गरेका छन्।

Logo