नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनको उम्मेदवार चयन गरेको छ। शुक्रबार बिहान बसेको एमाले स्थायी कमिटी बैठकले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार चयन गरेको हो ।
वागमती प्रदेशअन्तर्गतको रिक्त एक सिटका लागि एमालेले उम्मेदवार चयन गरेको एमाले संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए।
शुक्रबार नै उपनिर्वाचनका लागि उम्मेदवारले मनोनयन पत्र दर्ता गराउनु पर्ने निर्वाचन आयोगको कार्यसूची छ।
त्यही भएर उम्मेदवार चयन भएलगत्तै थापा मनोनयन पत्र दर्ताका लागि वागमती प्रदेशको राजधानी मकवानपुर गएका छन्।
विपक्षी गठबन्धन ‘कांग्रेस, माओवादी र एमालेको ‘नेपाल–खनाल’ पक्ष र जनता समाजवादी पार्टी’ ले डा. खिमलाल देवकोटालाई उम्मेदवार बुधबार नै घोषणा गरेको छ। उनी संघीयताविज्ञ हुन्।
निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्ने समय शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म रहेको छ।
शनिबार दाबी विरोध गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ।





























प्रतिक्रिया