गण्डकी प्रदेशको मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि फेरि सरकार गठनको खेल सुरु भएको छ।
प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र बहुमत पुर्याएर सरकार गठनका लागि दावी प्रस्तुत गर्ने अवधि दिएपछि गुरुङ संसदीय दलको नेता रहेको दल एमाले र विपक्षी गठबन्धन (कांग्रेस–माओवादी–जनमोर्चा–जसपा) सरकार गठनको खेलमा सहभागी छन्।
सरकार गठनका लागि बहुमत ३१ सांसद आवश्यक छ। जुन पक्षले बहुमत पुर्याउँछ, उही पक्षले सरकार गठन गर्नेछ।
विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रको संसदीय दलका नेता दीपक कोइरालाले सरकार गठनका लागि बहुमत सांसदहरूको हस्ताक्षर संकलन गर्न लागिएको बताएका छन्।
त्यसका लागि बैठक बस्न लागिएको उनले जानकारी दिए ।
‘नयाँ सरकार गठनका लागि सामान्य बहुमत ३१ हो, हामी बहुमत पुर्याउँछौं र त्यसका लागि बैठक बस्न लागेका छौं’, दलका नेता कोइरालाले केन्द्रविन्दुसँग भने, ‘आजै ३१ जना सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखलाई बुझाउने तयारी छ, यदि आज भएन भने भोलि त बुझाउँछौं नै।’
उनका अनुसार विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत छ। नयाँ सरकार गठनमा बहुमत नपुग्ला भन्ने चिन्ता नभएको पनि उनले बताए। गण्डकी प्रदेश संसदमा ६० जना सांसद छन्। त्यसमध्ये एमालेको मात्र २७ जना सांसद छन्।
नेपाली कांग्रेसका १५, माओवादी केन्द्रको सभामुखसहित १२ जना, राष्ट्रिय जनमोर्चाको ३ जना, जनता समाजवादी पार्टीको २ जना र स्वतन्त्र सांसद १ जना छन्।
स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ हुन्। उनी एमालेको पक्षमा उभिएका छन्। त्यसवापत उनी १० दिन प्रदेशको युवा तथा खेलकुदमन्त्री भए।
हाल विपक्षी गठबन्धनमा ३२ सांसद छन्। तर, जनमोर्चाका दुई जना सांसदहरू कृष्ण थापा र खिमविक्रम शाहीमाथि गठबन्धनकै अन्य दलहरूले शंका व्यक्त गर्दै आएका छन्। दुई सांसदमध्ये एक सांसद विपक्षी गठबन्धनमा नउभिएको खण्डमा नयाँ सरकार गठनमा असहजता निम्तिन सक्ने अवस्था छ।
यसअघि वैशाख १३ गतेदेखि सञ्चालन भएको प्रदेशको विशेष अधिवेशनको क्रममा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा १५ गते मतदान हुने कार्यसूची रहँदा शाही वेपत्ता भएका थिए। शंकास्पद रूपमा कोभिड पोजेटिभ देखिएको चर्चा चलेको थियो। उनी चिरक अस्पतालमा भेटिएका थिए।
यसले गर्दा विपक्षी गठबन्धन पनि सरकार गठनका लागि बहुमत सिद्ध गर्न नसकिएला कि भन्ने संशयमा छ। यद्यपि, जनमोर्चाका सांसदहरूले विपक्षी गठबन्धनकै पक्षमा उभिने बताउने गरेका छन्।
यस्तै, एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले पनि बहुमत सावित गर्न लागिएको बताए।
‘बहुमत पुर्याउने आधार एमालेसँग छ?’ भन्ने प्रश्नमा उनले बहुमत पुर्याउन चलखेल नगरिएको तर पुग्ने सम्भावना रहेको बताए।
‘मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना थिएन, दिनुभयो। राजनीतिमा अनेक सम्भावना हुन्छ’, एमाले प्रमुख सचेतक अधिकारीले भने, ‘हामी चलखेल गर्दैनौं, नगरिकनै बहुमत सावित गर्ने काममा छौं, अन्य दलले के गर्छन् थाहा छैन।’
२३ फागुनमा सर्वोच्च अदालतले नेकपालाई विघटन गर्दै पूर्ववत् पार्टीहरू एमाले र माओवादी केन्द्र व्युँताएको र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको पक्षमा उभिएको आरोप लगाउँदै माओवादी केन्द्रले मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै माओवादीबाट मन्त्री भएकाहरूले राजीनामा दिएका थिए।
जनमोर्चाले पनि त्यसपछि समर्थन फिर्ता लिएको हो। दुई दलले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको र आइतबार पदबाट मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन्।





























प्रतिक्रिया