काठमाडौं ।
बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएका छन् भने सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठ नियुक्त भएका छन् ।
यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सरुवा भएका छन् । नवनियक्त अर्थमन्त्री पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथले बिहीबार पद तथा गोपनीयताको सपथ समेत खाएका छन् ।
बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन् । सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हालेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओली आफैँले राखेका छन् । अन्य मन्त्री तथा राज्यमन्त्रीहरु भने यथावत नै रहेका छन् ।
जसमध्ये रामबहादुर थापा गृह, प्रदीपकुमार ज्ञवाली परराष्ट्र, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, गिरिराजमणि पोखरेल शिक्षा विज्ञान तथा प्रविधि, वर्षमान पुन ऊर्जा जलस्रोत तथा सिँचाइ, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, भानुभक्त ढकाल स्वास्थ्य तथा जनसंख्या, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, योगेशकुमार भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद, पद्माकुमारी अर्याल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, बीना मगर खानेपानी, वसन्तकुमार नेम्बाङ भौतिक पूर्वाधार तथा यातायात, शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला, मोतीलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री रहेका छन् ।































प्रतिक्रिया