निलम्बन फुकुवा मात्रै होइन, पार्टीलाई ०७५ जेठ २ मा लानुपर्छ: सुरेन्द्र पाण्डे

निलम्बन फुकुवा मात्रै होइन, पार्टीलाई ०७५ जेठ २ मा लानुपर्छ: सुरेन्द्र पाण्डे


नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले निलम्वन फुकुवा भए पनि पार्टीलाई ०७५ जेठ २ को स्थितिबाट अगाडि नबढाएसम्म पार्टी एकतामा देखिएको संकट टरेको मान्न नसकिने बताएका छन्।

संकट टार्दै पार्टी एकता सुदृढ बनाउन पार्टी अध्यक्ष केपी ओलीले उक्त मितिसम्म रहेको एमालेको पार्टी संरचनालाई स्वीकारेर अगाडि बढ्नुपर्ने बताए।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा विघटन गर्दै ०७५ जेठ २ को एमाले ब्युँउताएको उनको भनाइ छ।

निलम्वन फुकुवासम्बन्धी निर्णयलाई उनले सकारात्मक भएको प्रतिक्रिया दिए। जसले निर्णय गरेको थियो, उसैले निर्णय उल्ट्याएको बताए।

‘निलम्बन गर्ने निर्णय नै गलत थियो, हामीले निर्णय खारेज गर्न भनेका थियौं, अहिले आएर निर्णय जसले निर्णय गर्याे, उसैले उल्टाएपछि मैले सकारात्मक रूपमा लिएको छु, बाँकी हेर्दै जाऔं’, सांसदसमेत रहेका पाण्डेले केन्द्रविन्दुसँग भने।

उनले ३० जना सांसदहरूमाथि सोधिएको स्पष्टीकरणको निर्णयलाई पनि उल्टाउनु पर्ने बताएका छन्।

उनी एमाले नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपक्षीय नेता हुन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नेपालसहितका चारजना नेताहरू पाण्डे, भीम रावल र घनश्याम भुसालमाथि गरेको निलम्बन फुकुवाको प्रस्ताव गरेका थिए।

बैठकले प्रस्तावलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन्। चार नेतामाथिको निलम्वन फुकुवासँगै एमाले एकताको बाटोमा जाने देखिएको छ।

Logo