हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासनको कारवाही गर्नेबारे छलफल थालेको छ। यादव पक्षको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक कदम भएको ठहर गर्दै कारवाहीको तयारी गरेको हो।
तर, ठाकुर पक्षले पनि आज कुनै पनि बैठक नडाकिएको प्रष्ट पारेको छ। पछिल्लो समय जसपाभित्र देखिएको गुटगत छलफल र निर्णयले पार्टी विभाजनको संघारमा पुगेको बुझ्न सकिन्छ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ।
शनिबार नेपालमा थप ८ हजार १ सय ६७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ भने १ सय ८७ जनाको मृत्यु भएको छ।
नेपालमा कोरोना महामारीले उग्ररुप लिँदै गर्दा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ। शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय भारतका साथै नेपाललगायतका देशमा संक्रमण बढेको उल्लेख गरेको हो। नेपालमा तत्काल कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले पनि विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ।
नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र त्यसमध्ये २५ लाखलाई खोप लगाइएएको जानकारी दिएका हुन्। उनले अस्पताल तथा प्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको पनि दावी गरेका छन्।
चीनले पठाएको एउटा यानले मङ्गलग्रहमा अवतरण गरेको छ। चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार चीनको एउटा रोबोट मङ्गलग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको हो। ६ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो। यान अवतरणसँगै चिनियाँ राष्ट्रपति सी जिन्पिङले एउटा विशेष सन्देशमा उक्त अभियानको ‘ठूलो उपलब्धि’का लागि सम्पूर्णलाई बधाई दिएका छन्।





























प्रतिक्रिया