हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिँदै राजनीतिक र कानुनीरुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेल उपस्थित भएर राजनीतिक र कानुनी लडाईं लड्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता माधवकुमार नेपाल बिकेपछि आफ्नै पार्टीको सरकार ढाल्न विपक्षीसँग गठबन्धन गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन सिध्याउन माधव नेपाल पक्ष बिकाउ र पतित भएको आरोप समेत लगाए । उनले नेपाली कांग्रेसले शनिबार निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेसका सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओली टिप्पणी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपलमा ८ हजार ८ सय ४८ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ। नेपालमा आजमात्र ८ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यसैबीच कोभिडविरुद्ध अमेरिकाले दिएको स्वास्थ्य सामग्री पहिलो पटक काठमाडौं आइपुगेको छ। स्वास्थ्य सम्बन्धी सामाग्रीहरुले नेपाली स्वास्थ्यकर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको कोभिड १९ विरुद्धको लडाईंमा थप सहयोग पुग्ने अमेरिकी दूतावासले जनाएको छ।
नेपाल राष्ट्रबैंकले मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको जनाएको छ। तर, नेपालमा विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको भने उत्पादन क्षमता उच्च रहेको र लागत भने न्यून रहेको बैंकको तथ्यांकले देखाएको छ। यसरी विदेशी लगानीका उद्योगहरूको उत्पादन र लगानीलाई मूल्यांकन गरी वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिन उपयुक्त हुने राष्ट्र बैंकले निष्कर्ष निकालेको छ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)लाई त्यहाँको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको छ। उक्त पार्टीले चुनावमा धाँधली गर्नुका साथै अन्य अबैधानिक कामहरु गरिरहेको त्यहाँको निर्वाचन आयोगका प्रमुखले आरोप लगाएका छन्। गत बर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको सुकीको पार्टीले धाँधली गरेको भन्दै त्यहाँको सेनाले हाल सत्ता कब्जा गरि शासन गर्दै आएको छ।































प्रतिक्रिया