एमाले सुदूरपश्चिम संसदीय दलको बैठक सुरु, ओली पक्षका नेता अनुपस्थित

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक सुरु, ओली पक्षका नेता अनुपस्थित

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा ओली पक्षका सांसदहरुलाई पनि बोलाइएको तर, कोही काठमाडौं र कोही दुर्गम जिल्लाहरुमा भएका कारण उपस्थित हुन नसकेको एमाले ओली निकट प्रदेश सांसद रतन थापाले जानकारी दिए। 

‘यसअघि तीन पटक बैठक बस्यो उहाँहरु बहुमतमा हुनुहुन्छ, हामीलाई बोलाईएको थिएन । तर, हिजोको बैठकले हामीलाई पनि बोलाउने निर्णय भएछ। ढिलो जानकारी आएको भएर बैठकमा उपस्थित हुन सकेनौं’, थापाले केन्द्रबिन्दुसँग भने।

त्यसो त मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेलाई सारिएको थियो।

केन्द्रमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि किन माओवादी केन्द्रकै मुख्यमन्त्रीलाई समर्थन गर्ने र होइन अब दुईवर्ष स्थायी सरकार दिनुपर्छ भन्ने दुई थरि आवाज उठेपछि मंगलबारको बैठक बिना कुनै निष्कर्ष स्थगित भएको थियो।

तर, आज उनीहरु मात्र बसेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुुहुने विश्वास रहेको सांसद रतन थापाले बताए। उनले भने, भीम रावलले टिकट दिलाएका तीन जना सांसदहरु मात्र अहिले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता नगरौं भन्ने लाईनमा हुनुहुन्छ। त्यसकारण उहाँहरुले विवेक पुर्याएर समर्थन फिर्ता लिने निर्णय गर्नुहुनेछ। त्यस निर्णयलाई हामी स्वीकार गर्छौं, थापाले भने।

आजको बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेका तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् । 

अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी छिन्। सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा बैठकमा छलफल हुनेछ। 

आजको बैठकले सरकार गठनमा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्नेछन्।

Logo