सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्। जबरा नेतृत्वको पूर्ण इजलासमा ३० वटै रिटको पेशी तोकिएको छ।
बिहीबार प्रधानन्यायाधीश जबराको नियमित एकल इजलासले १९ वटा रिटमाथि संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएसँगै संवैधानिक इजलासमा सुनुवाइ हुने रिटको संख्या ३० पुगेको हो। यसअघि दर्ता लगत्तै ११ वटा रिटलाई भने सर्वोच्च प्रशासनले सिधै संवैधानिक इजलासमा पठाएको थियो।
प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा संविधानको धारा ७६ (५) अनुसार नियुक्त गर्न माग गरिएको रिट २६ वटा छन्।
बाँकी चारवटा सोही धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा एमाले अध्यक्ष केपी ओलीलाई नियुक्त गर्नुपर्ने र तोकिएकै समयमै मध्यावधि निर्वाचनको माग गरिएको रिट हुन्। यी रिटहरू गत आइतबार र सोमबार सर्वोच्चमा दर्ता भएका हुन्।





























प्रतिक्रिया