जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता निष्कासित

जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता निष्कासित


जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो। 

पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै चार जनालाई पार्टी साधारण सदस्यबाट निष्कासन गरिएको उल्लेख गरेको छ।

पार्टीले निष्कासन गरिएको जानकारी निर्वाचन आयोग दिइसकेको छ।त्यसो त जेठ ७ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए।

पुनः ११ जेठमा तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएकोमा ठाकुर पक्षले पनि उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो। 

फेरि १५ जेठमा २४ घण्टे स्पष्टीकरण पत्र पठाएका यादवले मंगलबार बैठक राखेर निष्कासनको निर्णय गरेको हो।

ठाकुर पक्षले पनि यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी रहेको जनाएको छ।

Logo