एमालेको अबको भविष्य कस्तो?, जुट्ला वा फुट्ला?

एमालेको अबको भविष्य कस्तो?, जुट्ला वा फुट्ला?

केन्द्रबिन्दु
0
Shares

नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी शक्ति एमाले गम्भीर संकटमा छ। ‘प्याट्ट’ फुट्नबाट कसैले जोगाउन नसक्ने स्थितिमा छ। विकसित आन्तरिक राजनीतिक घटनाक्रमले यही देखाउँछ।

वाम विश्लेषक डा. खगेन्द्र प्रसाईंका अनुसार पार्टीमा देखिएको मतभेद र त्यसको व्यवस्थापन नभए अन्नतः हुने भनेकै फुट हो। हाल एमालेमा मतभेद टुङ्गिने सम्भावना निकै न्यून छ।

एकताको सम्भावना टरिसकेको एमालेकै नेताहरूको विश्लेषण पनि छ। कुनै चमत्कार भए मात्रै एकता जोगिन सक्छ। नभए एमालेको अबको गन्तव्य फुट नै हो। पार्टीमा अध्यक्ष केपी ओली भर्सेस माधवकुमार नेपाल छन्। एकले अर्को पक्षविरुद्ध गर्न सकिने जे–जे छ, गरिरहेको अवस्था छ। 

परिणामतः एमालेकै नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री रहेको गण्डकी प्रदेश सरकार शनिबार ढल्यो। गुरुङ ओली निकट नेता हुन्।

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश सत्तामा पुगेका छन्। एमालेभित्रको झगडाको फाइदा कांग्रेसलाई भयो। मुख्यमन्त्री भएका पोखरेललाई हार्दिकताका साथ फोन गरेर बधाई र शुभकामना ज्ञापन गर्ने स्थितिमा पुगे।

जबकि, गुरुङले तत्कालीन ‘नेकपा’ हालको एमाले र माओवादीका सांसदहरूलाई भनेका थिए, ‘काठमाडौंमा पानी पर्छ, पोखरामा छाता नओढौं।’ मतलब, केन्द्रमा जे भएपनि प्रदेशमा मिलेर जाऔं भन्ने उनको आशय थियो।

अन्ततः छाता नओढौं भन्ने उनको कुर्सी नै गुम्यो। अब, पार्टी पनि विभाजन हुन मात्रै बाँकी छ। तर, विभाजनअघि एमाले नेताहरू मुख्यमन्त्री भएका सबै प्रदेशहरूको सत्ता पल्टिने देखिन्छ। २०७४ मा भएको प्रदेश र संघीय संसद्को निर्वाचनपछि प्रतिपक्षमा रहेको कांग्रेसको सत्तारोहणको बाटो खुलेको छ। गण्डकी प्रदेशबाट सत्तारोहणको यात्रा तय गरेको छ।

विभाजन र सानो पार्टी

मुलुक संघीय संरचनामा गएपछि भएको प्रदेश र संघीय संसद्को निर्वाचनमा एमाले र माओवादी ‘वाम गठबन्धन’ बाट जाँदा दुई तिहाई नजिक बहुमत प्राप्त गरेको थियो। गठबन्धनलाई २०७५ जेठ ३ मा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा समाहित गरे। 

२३ फागुनमा नेकपा विभाजन भइ एमाले र माओवादी ब्युँतियो। यसरी ब्युँतिएको एउटा पार्टी एमालेमा २८ फागुनपछि संकट गहिरियो।

त्यसपछि भागबण्डा गर्दा बहुमत प्राप्त ६ प्रदेशमध्ये ४ प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादी केन्द्रलाई प्रदेश सत्ता नेतृत्वको अवसर जुर्यो ।

तर, २३ फागुनमा नेकपा विभाजन भइ एमाले र माओवादी ब्युँतियो। यसरी ब्युँतिएको एउटा पार्टी एमालेमा २८ फागुनपछि संकट गहिरियो। त्यसबारेमा विस्तृत चर्चा भन्दा अहिले एमालेको सम्भावित भविष्यलाई चाहिँ केलाऔं।

एमालेको ओलीपक्षीय एक जना प्रभावशाली नेता विशाल भट्टराई एकताबद्ध एमालेको पक्षमा रहेको बताउँछन्। त्यही भएर निलम्वित नेता नेपालपक्षीय १२ जना निवर्तमान सांसदलाई सोधिएको स्पष्टीकरणपछि थप कारबाही नगरिएको उनको भनाइ छ। तर, एकताबद्ध एमाले रहनेमा उनलाई नै विश्वास छैन।

माधवपक्षीय नेतृ अष्टलक्ष्मी शाक्यले त एकताको कुनै सम्भावना नरहेको र अब नयाँ पार्टी दर्ता गर्नेतिर अघि बढेको बताइसकेकी छिन्। यस्तो अवस्थामा विकसित राजनीतिक घटनाक्रमको आधारमा एमालेको अनुमानित भविष्य यस्तो हुन सक्छ। 

  • ओलीपक्षीय मुख्यमन्त्रीहरू रहेको प्रदेश १, बागमती र लुम्बिनी प्रदेश सरकार पनि ढल्ने र प्रदेश सरकारहरूको नेतृत्वबाट ओली पक्षको बहिर्गमन हुने देखिन्छ।
  • माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारलाई जोगाएको एमालेको माधव पक्ष र कांग्रेसले पनि समान २–२ प्रदेशको नेतृत्व गर्ने स्रोतले जनाएको छ। यदि त्यसो भए माधव पक्षले बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्दा कांग्रेसले प्रदेश १ मा पनि सरकारको नेतृत्व गर्नेछ।
  • यति भएपछि एमालेको गन्तव्य औपचारिक रूपमै विभाजनतर्फ हो। विभाजनपछि नेपाल पक्ष नयाँ दल खोल्नमा पक्कापक्की छ। उनीसँग एमालेको सानो समूह जाने र ठूलो समूह ओलीमा रहने स्थिति छ। दलको नाम, चुनाव चिन्हलगायत पार्टीको चल÷अचल सम्पति ओली पक्षलाई नै रहने छ। किनभने, राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार बहुमत रहेको पक्षसँग पार्टीको नाम, चुनाव चिन्हदेखिका सम्पूर्ण सम्पति रहन्छन्।
  • स्थानीय, प्रदेश र संघीय संसदको कार्यकाल सकिन लागेको छ। निर्वाचनमा जाँदा एमाले अध्यक्ष ओली जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षसँग गठबन्धनमा जाने सम्भावना बढेको छ। एमालेबाट विभाजित भएर नेपालले कुनै दल खोले उनी कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र जनमोर्चासँग गठबन्धनमा चुनावमा जाने देखिन्छ। चुनाव त्यसरी नै गए कुन गठबन्धनले बहुमत प्राप्त गर्न सक्छ? अहिले नै अनुमान गर्न सकिन्न।
  • नेता वामदेव गौतमलाई विभाजनको पीडा थाहा भएकाले उनी एमाले एकता अभियानमै रहने सम्भावना बढी छ। यदि, ओली र नेपाल कुनैलाई समर्थन गर्नुपरे एमाले ओली नेतृत्वमै हुने भएकोले उनलाई समर्थन गर्ने अवस्था छ।
  • नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य एमाले विभाजन भए कमजोर हुनेछ। पार्टीको आकार अहिलेका जस्तो स्थितिमा हुने छैन। कतिपयले भारतको पश्चिम बंगालमा जसरी कम्युनिस्ट आन्दोलन पतनको दिशामा जान सक्ने अनुमान पनि गर्न थालेका छन्। 

Logo