जसपा ठाकुर पक्षलाई विवाद निरुपणका लागि आयोगले माग्यो लिखित जवाफ

जसपा ठाकुर पक्षलाई विवाद निरुपणका लागि आयोगले माग्यो लिखित जवाफ


जसपा विवादमा उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकता सम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र दिएपछि निर्वाचन आयोगले विवाद निरुपणको प्रक्रिया सुरु गरेको छ।

आयोगले उक्त दावीबारे महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ। आयोगले ठाकुर पक्षलाई यादव पक्षका दावीको विषयमा लिखित जवाफ पेश गर्न १५ दिनको समय दिएको छ।

आयोगको यो कदमसँगै निर्वाचन आयोग जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणमा प्रवेश गरेको छ।

आयोगको ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्न भनिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

जसपामा आन्तरिक कलह उत्कर्षमा छ। यतिबेला दलनै विभाजनको संघारमा छ। यसअघि उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्को पक्षलाई कारबाही गरी दल दर्ता किताबमा रहेको विवरण सच्याउन दिएको निवेदनलाई आयोगले दुबै पक्षको दावी नपुग्ने भनी अस्वीकार गरेको थियो।

त्यतिबेला आयोगले यो विवाद दलको आधिकारिकता सम्बन्धी भएको भन्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार निरुपणका लागि आउन आग्रह गरेको थियो।

लगतै उपेन्द्र यादव पक्षले असार ४ गते केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित दलको आधिकारिकता दावी गर्दै निवेदन दिएको थियो।

सोहि निवेदन अनुसार नै आयोगले विवाद निरुपणका लागि अग्रसर भएको हो।

Logo