कांग्रेसको १४ औं महाधिवेशनः सभापतिको लाइनमा नौ जना नेता

कांग्रेसको १४ औं महाधिवेशनः सभापतिको लाइनमा नौ जना नेता


१४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापति पदका लागि नेपाली कांग्रेसको तेस्रो तहसम्मका नेताहरू एकसाथ माहोल बनाउन व्यस्त छन्।

निकट र आकाङ्क्षी नेताहरूलाई समेत भेट्दै एकले अर्कासँग साथ र सहयोगको याचना थालेका छन्।

यसमा सभापति शेरबहादुर देउवा सबैभन्दा अगाडि देखिएका छन्। आज मात्रै उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका निकटस्थ केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै सहयोग मागेका छन्। छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, मीनबहादुर विश्वकर्मा, कृष्णकिशोर घिमिरे, एनपी साउद, रमेश लेखकलगायत थिए।

स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले अन्तिम पटक सभापति पदका लागि सहयोग गर्न र जिल्लामा गएर माहोल बनाउन नेताहरूलाई निर्देशन दिए।

यसअघि प्रदेश १, २ सँगै बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग सहयोगका लागि आग्रह गरिसकेका छन्। सभापतिमा देउवा फेरि दोहोरिन चाहेपछि उनलाई रोक्नुपर्ने ठूलो जमात पनि कांग्रेसमा छ।

उनी निकट उपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठदेखि अर्को भिन्न खेमाका नेताहरू देउवालाई रोक्नुपर्नेमा एकमत छन्। सोही कारण नेता निधिले आज सभापति पदका लागि संस्थापनइतरका दुई जना आकाङ्क्षी प्रकाशमान सिंह र डा. शशांक कोइरालासँग भेट गरेका छन्। 

मध्य वानेश्वरमा रहेको निवासमा निधि दम्पतीको ‘विवाहोत्सव’ को अवसर पारेर बोलाएपछि पुगेका पूर्वमहामन्त्री सिंह र महामन्त्री कोइरालासँग निधिले लामो गन्थन गरेको उनी निकट स्रोतले जनाएको छ।

‘पारिवारिक भेट हो तर महाधिवेशन नजिक आएकोले महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल नहुने भन्ने कुरा भएन, भयो’, स्रोतले भन्यो, ‘उहाँहरूले एकअर्कालाई सहयोग गर्नुपर्ने कुरा गर्नुभयो।’

निधिले सभापति पदका दुई प्रभावशाली आकाङ्क्षीसँग गरेको छलफल अर्थपूर्ण छ। पहिलो, कांग्रेसका संस्पथापकहरू वीपी पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र हुन्।

घरिघरि विरासतको राजनीतिको विषय कांग्रेसमा उठान हुने गर्दछ। जबकि, यी तिनै नेताको हालको राजनीतिक उचाईमा विरासतको राजनीति पनि ‘प्लस प्वाइन्ट’ हो। र, आज भएको उनीहरूको भेटलाई संस्थापक परिवारबाटै पार्टीको भावी नेतृत्व खोजी गर्ने संकेतको रूपमा लिएको छ।

अर्कातिर भेटले सभापति देउवालाई थप दबाब बढाएको छ। जबकि, निधि देउवाको विश्वास पात्र हुन्। उनले यसअघि देखिनै सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

देउवाको नजर कोइराला र सिटौलातिर
सभापति देउवाले विश्वास पात्र निधिले सभापति पदमा जसरी पनि उम्मेदवारी दिने घोषणा गर्दै आएपछि महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट साथ खोज्ने तयारी गरेका छन्।

यसअघि पनि सिटौला पक्षले १३ औं महाधिवेशनमा देउवालाई सहयोग गरेका थिए। सिटौलाबाट सहयोग नभएको अवस्थामा शशांक पक्षबाट सहयोग लिने मनस्थिति बनाएका छन्। शशांक १३ औं महाधिवेशनबाट महामन्त्री हुनुमा पनि भित्रिरूपमा देउवाको सहयोग रहेको बताइन्छ।

यसरी भदौ १६ देखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरू सभापति पदका लागि माहोल बनाउन व्यस्त भएका हुन्।

सभापति पदको आकाङ्क्षीहरू देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, प्रकाशनमान सिंह, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेता गोपालमान श्रेष्ठ, अर्जुनरसिंह केसी र युवा नेता कल्याण गुरुङ देखिएका छन्।

Logo