राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन नगरेको विप्लव समूहको गुनासो

राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन नगरेको विप्लव समूहको गुनासो


नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन्।

गत फागुन २१ गते सरकारसँग भएको ३ बुँदे सहमतिप्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीतापूर्वक कार्यान्वयन नगरेको बताएका हुन्। उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी भएको दाबी गरे। 

३ बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्ने काममा पनि ढिलासुस्ति भएको गुनासो उनले गरे। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौंले आइतबार संघीय राजधानीमा गरेको रक्तदान कार्यक्रममा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्य आफूले गरेको सहमतिप्रति उत्तरदायी भई कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गरे।

नेकपा काठमाडौं जिल्ला कमिटीले आइतबार गरेको रक्तदान कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ।

Logo