हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ। यो सँगै नेकपा एमाले २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किएको छ। आजको आयोजक कमिटीलाई केन्द्रीय कमिटीको निर्णय अनुसार अब, माधव नेपालसहित ११ नेतामाथिको पार्टी कारवाही स्वतः निस्क्रिय भएको छ। यस्तै बैठकले नेकपा एमालेमा रहँदा स्थायी कमिटी सदस्य रहेका पूर्वमाओवादी नेताहरुलाई पनि एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय हुँदै गएको बताएका छन्। प्रधानमन्त्रीले सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी पनि गरेका छन्। यद्यपि पार्टीभित्र अस्थिरता पैदा गर्ने खेलमा केही व्यक्तिहरु लागि परेको र त्यो खेल विरोधीहरुसंगको साँठगाठमा प्रवेश गर्नाले पार्टी सञ्चालनका लागि अबैध सम्झौता गर्नुपर्ने अवस्था श्रृजना भएको प्रधानमन्त्रीको गुनासो छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेका विभिन्न रिट निवेदनमाथि सर्वोच्च अदालतमा गत बुधबारबाट नै अन्तिम सुनुवाइ प्रक्रिया जारी छ। जसमा सोमबारदेखि रिट निवेदनको विपक्षमा बहस जारी छ। रिट निवेदनका विपक्षमा रहेका ११ सरकारी वकिल मध्ये सोमबार एक जनाले र मंगलबार ४ जनाले बहस गरेका छन्। यस्तै बुधबार बाँकी २ जनासहित प्रधानमन्त्री ओलीका निजी वकिलले पनि बहस गरेका छन्। बहसका क्रममा वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनसम्बन्धी कदमको रक्षा पनि गरेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिनाको तथ्याङ्कअनुसार नेपालमा झन्डै ८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको देखिएको छ। तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको प्राधिकरणले जनाएको छ। जसमा थ्री जि सेवा सबैभन्दा धेरैको पहुँचमा रहेको र फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेको पनि तथ्यांकले देखाएको छ।
युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको छ। अब अन्तिम ४ का लागि अर्थात् सेमीफाइनलका लागि शक्रबार रातिदेखि प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलमा पुगेका टिममध्ये स्पेन, बेल्जियम, इटाली र डेनमार्क र इंग्ल्यान्डलाई युरोकपमा निकै महत्वपूर्णरुपमा हेरिएको छ।





























प्रतिक्रिया