खुमबहादुर खड्काको अवसानपछि कांग्रेसमा हिन्दु राष्ट्रको एजेन्डा बेवारिसे

खुमबहादुर खड्काको अवसानपछि कांग्रेसमा हिन्दु राष्ट्रको एजेन्डा बेवारिसे

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसमा सैद्धान्तिक रूपमा नसुल्झिएको धर्म निरपेक्षताबारेको सवाल १४ औं महाधिवेशनमा ‘मत्थर’ हुने देखिएको छ।

महाधिवेशन केन्द्रित धार्मिक एजेन्डाअन्तर्गत धर्म निरपेक्षताको विरुद्धमा हिन्दु राष्ट्रको सवाल हालसम्म कसैले अघि सारेका छैनन्। जबकि, कांग्रेसभित्र हिन्दु राष्ट्र पक्षधर एउटा समूह अस्तित्वमा छ, जुन समूहको धर्म निरपेक्षताप्रति अरुचि छ।

१३ औं महाधिवेशनको सम्मुखमा पूर्वगृहमन्त्री खुमबहादुर खड्काले बनाएको यो समूहले घनीभूत रूपमा हिन्दू राष्ट्रबारे अभियान नै चलाएको थियो। अभियन्तामध्येका उनै खड्का सर्वाधिक मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनी दिवंगत भइसकेका छन्।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रबारे बहस हुने सम्भावना देख्छन्। तर, एजेन्डा नै हिन्दु राष्ट्र बन्ने सम्भावना देख्दैनन्। उनका अनुसार यसको पछि एउटा कारण छ। त्यो हो– हिन्दु राष्ट्रको एजेन्डालाई नेतृत्व दिने नेता कांग्रेसमा अहिले छैनन्। महामन्त्री शशांक कोइरालाले पहिले बोले पनि आजकाल हिन्दु राष्ट्रबारे सार्वजनिक मञ्चमा बोल्न छाडेका छन्। 

यसले गर्दा उनी धर्म निरपेक्षताबारेको बहस कांग्रेसमा ‘मत्थर’ हुँदै गएको ठान्छन्। हुन त संविधानमै ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो,’ भनिएको छ।

दसबर्से माओवादी जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३ को दोस्रो जनआन्दोलनपछि प्राप्त राजनीतिक उपलब्धिमध्ये धर्म निरेपक्षलाई एउटा उपलब्धि मान्ने गरिन्छ।

तर, पश्चिमा देशको क्रिश्चियन धर्म विस्तार गर्ने योजनाअनुसार देशलाई धर्म निरपेक्ष बनाएको हिन्दुवादीहरूको आरोप छ। उनीहरू भन्छन्,–सनातन धर्म संस्कारको संरक्षण र संवद्र्धनका लागि देशलाई धर्म सापेक्ष वा हिन्दु राष्ट्र बनाइनुपर्छ।

तर, अर्का राजनीतिक विश्लेषक दुर्गा सुवेदी आचार्यले  कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा धर्म निरपेक्षताबारे बहस हुन सक्ने भए पनि हिन्दु राष्ट्र वा धर्म सापेक्षताबारेको एजेन्डा पास हुने सम्भावना पटक्कै देख्दैनन्। र, त्यस्तो एजेन्डा बोक्न पनि नहुने मत राख्छन्।

‘प्रधानमन्त्री सुशील कोइराला हुँदा संविधान जारी भएको हो, त्यही संविधानमा नेपाल धर्म निरपेक्ष राज्य भनिएको छ र, त्यही भएकोले महाधिवेशनमा संविधानविपरीत गएर कांग्रेसले धर्म सापेक्ष वा हिन्दु राष्ट्रको एजेन्डा पास गर्दैन,’ सुवेदीले केन्द्रबिन्दुसँग भने, ‘संविधानबाहिर गएर धर्म निरपेक्षताबारे बहस चाहिँ हुन सक्छ।’

कांग्रेसमा महामन्त्री डा. शशांक कोइराला, नेताहरू डा. शेखर कोइराला, सुजाता कोइरालादेखि शंकर भण्डारीलगायतलाई धर्म निरपेक्ष अस्वीकार्य छ। घरिघरि सार्वजनिक मञ्चमा उनीहरूले धर्म निरपेक्षबारे जनमत संग्रह गर्नुपर्ने बताउँदै आएका छन्।

राजनीतिक विश्लेषक सुवेदी यसबारे प्रश्न गर्छन्,– ‘धर्मबारे जनमत संग्रह गर्नुपर्छ भनिएको छ संविधानमा? संविधान संशोधन नगरी वा अर्को प्रावधान नराखी धर्मबारे कसरी बहस हुन सक्छ?’ फेरि, छिमेकी देश भारतमा कट्टर हिन्दुवादी दल भारतीय जनता पार्टी (बिजेपी) सत्तामा छ।

उक्त दलले अंगीकार गरेको हिन्दु राष्ट्रवादको प्रभाव नेपालमा पर्नु सामान्य पनि हो। 
गत फागुनको पहिलो साता त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले बिजेपी केन्द्रीय अध्यक्ष अमित शाहले नेपालमा हिन्दुवादी दल बिजेपीको संगठन विस्तार गर्ने योजना रहेको बताएको खुलासा गरे।

जसको नेपालका राजनीतिक दलहरूले मात्रै विरोध गरेनन्, सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शाहको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाए। भारतको लोकसभामा पनि शाहको अभिव्यक्तिप्रति विरोधको स्वर सुनिएको थियो। 

कांग्रेसमा महामन्त्री डा. शशांक कोइराला, नेताहरू डा. शेखर कोइराला, सुजाता कोइरालादेखि शंकर भण्डारीलगायतलाई धर्म निरपेक्ष अस्वीकार्य छ। घरिघरि सार्वजनिक मञ्चमा उनीहरूले धर्म निरपेक्षबारे जनमत संग्रह गर्नुपर्ने बताउँदै आएका छन्।

यसैबीच, कांग्रेसमा कोइराला परिवारको ‘लिगेसी’ चाहिँ भारतसँग पहिलेदेखिकै हो। त्यसले गर्दा पनि कोइराला परिवारका नेतात्रय आन्तरिक रूपमा चाहिँ हिन्दु राष्ट्रको वकालत गर्दै आएका छन्।

तर, महाधिवेशन अगाडि मुख खोल्न भने उनीहरू हिच्किचाएका छन्। किनभने, कांग्रेसमा धर्म निरपेक्षता चाहनेहरू अधिक छन्। अधिकांश आदिवासी जनजाति नेताहरू धर्म निरपेक्षताको पक्षमा छन्। त्यही भएर हिन्दु राष्ट्रको सवाल महाधिवेशन अगाडि मत्थर भएको हुनसक्ने अनुमान गर्न असहज छैन।

अर्कातिर, २०७५ सालको मंसिर २८ देखि पुस ३ गतेसम्म भएको महासमिति बैठकले पारित गरेको राजनीतिक प्रस्तवामा धर्म निरपेक्षतासहितको राजनीतिक उपलब्धिलाई संस्थागत र सुदृढीकरण गर्नु नेपाली कांग्रेसको मूल जिम्मेवारी रहेको ठहर्याएको छ।

कांग्रेसको सिद्धान्त र मान्यताअनुसार ‘हिमाल, पहाड, तराई–मधेस विभिन्न भूगोलमा रहेका विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति तथा आर्थिक रूपले विपन्न र सामाजिक रूपले विभदेमा पारिएका शोषित, पीडित समुदायले समेत एक–आपसमा सद्भावका साथ राष्ट्र, राज्य र राजनीतिक प्रणालीमाथि स्वामित्वसहित अभिभावकत्व अनुभव गर्ने हृदयको गहिराइबाट उत्पन्न भावना नै राष्ट्रियता हो।

यससँगै २०७५ साल फागुन १२ गते नवौंपटक संशोधन गरिएको ‘कांग्रेसको विधान–२०१७’ मा पनि सबै जाति, धर्म, भाषा र संस्कृतिको पहिचान र उन्नतिसहितको संघीय अवधारणालाई साकार बनाउन कटिबद्ध रहने उल्लेख छ। 

यसरी देशको संविधान, कांग्रेसको विधान र पारित राजनीतिक प्रस्तावका आधारमा पनि कांग्रेसले दायाँबायाँ गर्ने भन्ने विश्लेषक आचार्यलाई लागेको छैन। उनी भन्छन्, ‘महाधिवेशनमा कुनै पनि एजेन्डा उठ्लाजस्तो मलाई लाग्दैन, अहिलेसम्म सैद्धान्तिक, वैचारिक, आर्थिक–राजनीतिक सवालमा छलफल भएको छैन, पहिले हुन्थ्यो, केही ‘लिटरेचर डेभलप’ हुन्थ्यो, यसपटक छलफल नै भएको छैन। तर, धर्म निरपेक्षता र  कम्युनिस्टसँगको सम्बन्धबारे चाहिँ २–४ पटक छलफल गरेका छौं र कांग्रेसले दायाँबायाँ गर्ने अवस्था छैन।’

यसअघि कांग्रेस महासमिति बैठकमा ७ सय ३५ जना महासमिति सदस्यले हिन्दु राष्ट्र कांग्रेसको एजेन्डा बनाउनुपर्ने भन्दै हस्ताक्षरसहित माग गरेका थिए। पार्टी सभापति शेरबहादुर देउवाले मागसहितको निवेदन त लिएका थिए तर, त्यसबारे बैठकमा बहससम्म गराएनन्।

यसले गर्दा हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठी कांग्रेस हिन्दु धर्मबारे अनुदार बन्दै गएको बताउँछन्। ‘सात दिन (२०७५ मंसिर २८ देखि पुस ३ गते) सम्म बैठकमा हस्ताक्षरसहित हिन्दु राष्ट्र कांग्रेसको एजेण्डा बनाउनुपर्ने भनेर माग गरिँदा त केही छलफलसम्म भएन,’ उनले भने, ‘मलाई लाग्छ, यो महाधिवेशनबाट कांग्रेस हिन्दु राष्ट्रको एजेन्डा बोक्न तयार देखिँदैन।’ 

कांग्रेसमा कट्टर हिन्दुवादी पार्टी राप्रपामा जसरी हिन्दू धर्म वा धर्म सापेक्ष चाहने मात्रै छैनन्। त्यही भएर सभापति पदमा उम्मेदवारी घोषणा गरेका कांग्रेसभित्रका धर्म निरपेक्षताविरोेधी नेताहरू महामन्त्री डा. शशांक कोइरालादेखि केन्द्रीय सदस्य डा. शेखर कोइरालासम्मले हिन्दु धर्मको एजेन्डा अघि सारेका देखिँदैन। किनभने हिन्दू धर्मको एजेन्डा अघि सारेको अवस्थामा धर्म निरपेक्षताको पक्षमा रहेका महाधिवेशन प्रतिनिधिले मत नदेलान् भन्ने उनीहरूलाई लागेको छ।

हुन पनि धर्मको सवाल उठेको अवस्थामा मताधिकारप्राप्त महाधिवेशन प्रतिनिधि विभाजित हुने स्थिति रहन्छ। त्यसले गर्दा पनि कांग्रेसभित्रका हिन्दुवादी नेताले एजेन्डा अघि नसारेको हुनसक्ने पत्रकार तथा विश्लेषक त्रिपाठी बताउँछन्।

Logo