एमाले बैठकमा बामदेव गौतमको उपस्थितिले दिएको सन्देश

एमाले बैठकमा बामदेव गौतमको उपस्थितिले दिएको सन्देश

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष बामदेव गौतम दिउँसो बालुवाटार पुगे।

पार्टीको उपाध्यक्ष हैसियतमा बैठकमा उनको उपस्थिति रहेको भएता पनि अन्य नेताहरुको उपस्थितिभन्दा बैठकमा उनको उपस्थितिप्रति सबैले चासो राखेका थिए। बैठकमा बामदेवको गौतमको उपस्थितिले राजनीतिक अर्थसमेत राखेको छ। के बामदेव ओली क्याम्पमा लागेकै हुन त भन्ने प्रश्न पनि जन्माएको छ।

त्यसो त बामदेवले पार्टीको केन्द्रीय कमिटी बैठकमा आफू व्यक्तिगतरूपमा पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्।

बामदेवले बैठकमा पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको बताए पनि नेकपा पार्टीलाई गत वर्ष फागुन २३ गते सर्वोच्च अदालतले अलग गराईदिएपछि उनी तटस्थ थिए। उनले पार्टी एकिकरण गर्ने भन्दै पार्टी एकता राष्ट्रिय अभियान संचालन गरे र त्यसको संयोजक भएर भूमिका खेले।

उनको त्यो भूमिकाले खासै सार्थकता नपाएको विश्लेषक भीम भूर्तेल बताउँछन्। भूर्तेलले भने ओली क्याम्पमा बामदेव जानुले ओलीलाई केही फाइदा भएको बताउँछन्। बामदेव फूटवल जस्तै हुन् राजनीतिमा उनलाई जसले पनि हान्न सक्छ, अहिले ओलीले हाने तर, एमाले पार्टीमा उनलाई कि पर्सनको रुपमा लिने भएकोले माधव नेपाल पक्षलाई केही दवाव भने पक्कै पर्छ।

पार्टी अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाल दुवैको दुवैतिर तान्ने हरसम्भव प्रयासलाई बेवास्ता गर्दै उनी नेकपालाई पुनः एकिकरण गर्ने भन्दै मध्यमार्गी बाटो समातेका थिए।

उनलाई फकाउन पार्टी अध्यक्ष केपी ओली उनकै निवास पुगेका भएता पनि उनले हिजोसम्म पनि आफ्नो पक्ष स्पष्ट पारेका थिएनन्। तर, एकाएक उनी शुक्रबार बालुवाटारमा देखिएपछि उनी संस्थापन दावी गर्ने ओली समूहतिर पो मिसिएका हुन कि भन्ने अड्कल गर्न थालिएको छ।

बामदेवले पटक–पटक पार्टीलाई जेठ २ अघिको संरचनामा फर्काउनु पर्ने, पार्टीलाई एकतावद्ध गरि नयाँ शिराबाट अगाडि लैजानु पर्ने र नेकपालाई अलग नाम दिएर एकताबद्ध बनाउनु पर्ने बताउँदै आएका थिए।

यस अघि बुधबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई जेठ २ अघिको संरचनामा फर्काएपछि उनी बालुवाटार प्रवेश गरेको वुझिएको छ।

तथापि माधव नेपाल पक्ष भने ओलीले पार्टीलाई जेठ २ नभएर फागुन २८ सम्म मात्र पुर्याएको हुँदा बैठकमा सहभागि नहुने अडानसहित आजको बैठकमा भने अनुपस्थित रहे। पार्टी अध्यक्ष केपी ओलीको चर्को आलोचकका रुपमा परिचय बनाएका बामदेव कसरी एकाएक बालुवाटारसँग नजिक भए यो सर्वाधिक चासोको विषय बनेको छ।

Logo