रत्नपार्कको आकाशे पुलको पर्खालमा नेपाल विद्यार्थी संघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ। ‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भित्तेलेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ,’ काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले भने, ‘त्यहि बेलादेखि काठमाडौँ महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौँ। त्यहि अनुसार नै ती अभद्र नारा मेटाएका हौँ।’
कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौँ महानगरपालिकाले मेटिदिएको विरोधमा नेविसंघले त्यही भित्तामा अभद्र नारा लेखेर विरोध गरेका थियो। ‘२०७० सालमा आएर हामीले ‘होडिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका थियौँ,’ सापकाटोले भने, ‘त्यसै अनुरुप हामीले सहरी सौन्दर्यलाई प्रतिकूल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएका छौँ। त्यसमा सचेत छौँ र कार्यान्वयन पनि गर्दै आएका छौँ।’
उनले आजका दिनमा आएर भित्तामा चित्र बनाउने कुराहरु दुर्लभ भएको बताए। ‘भित्ते लेखनमै हामीले प्रतिबन्ध गरेका छौं भनेपछि त्यो वा ऊ भनेर व्याख्या गर्न आवश्यक भएन,’ उनले भने, ‘प्रतिबन्धित ठाउँमा कसैले जानेर वा नजानेर त्यस्ता कार्य गर्छ भन्ने हामी तत्काल रोक लगाउँछौँ। केही दिन अघि पनि हामीले त्यहि स्थानमा कोरेका चित्र मेटाएका हौँ। आजका अभद्र नारा पनि मेटाइदियौँ।’
उनले कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको बताए। ‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान छ,’ उनले भने, ‘त्यस्तो असल कार्य आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर वा अन्य माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ। त्यही प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन। त्यहाँ मात्रै होइन हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ। कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ। हाम्रो नीति अनुसार गर्न नहुने काम भएकाले मेटाएका हौँ।’
उनले राजनीतिक दल र विभिन्न भातृ संगठनलाई समेत विगतदेखि नै पटक–पटक आग्रह गरेको स्मरण गराउँदै त्यस्तो कार्य नगर्न सुझाव दिए। ‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति सम्मान गर्दै आज उहाँहरुले भित्तेचित्र बनाउनुभयो,’ सापकोटाले भने, ‘भोलि राजनीतिक दल, भ्रातृ संगठन र अन्य संघ–संस्थाले पनि हामीले पनि बनाउन पाउनुपर्छ भन्ने आउनुभयो भने के भन्ने। त्यसैले यो प्रतिबन्धित काम हो। कसैले गर्न पाउँदैनन्।’
नेविसंघले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मुर्दावाद’ भन्दै अभद्र नारा लेखेको थियो।































प्रतिक्रिया