नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निकटस्थ भनिएका दोस्रो तहका पाँच नेतालाई विश्वास गर्न छोडेका छन्। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र योगेशकुमार भट्टराईलाई नेता नेपालले विश्वास गर्न छाडेका हुन्।
शुक्रबार बिहान आचार्यसहितलाई भेट नदिइकन सुटुक्क सभामुख अग्निप्रसाद सापकोटा निवास लैनचौरमा जानुलाई पनि त्यसको पुष्टिको रूपमा लिइएको छ। हुन त यी सबै युवा नेताहरूको जोड्बल एमाले एकता जोगाउनमा केन्द्रित छ।
उनीहरूले अध्यक्ष केपी ओली निकटका नेताहरू सुवासचन्द्र नेम्बाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीपकुमार ज्ञवालीलगायतसँग आन्तरिकरूपमा सम्वाद गर्दै आएका छन्।
नेपाल निकट एक नेतृका अनुसार नेपालले विश्वास गर्न छाड्दै जानुको कारण यी पाँचै जना युवा नेताको विपक्षी गठबन्धनमा रहेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गराएको संसद् विघटनको निर्णयलाई लिएर विमती जनाउँदै ओली नजिक पुग्नुले हो।
यी पाँचमध्ये आचार्य पहिलेदेखि माधव पक्षमा रहेका वरिष्ठ नेता झलनाथ खनाल निकट भनिए पनि आन्तरिकरूपमा ओली निकट मानिन्छ।
बाहिरीरूपमा उनलाई माधवपक्षको प्रदेश १ को सर्वोच्च नेता मानिन्छ। तर, उनको विकल्पमा नेता नेपालले त्यहाँका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसद राजेन्द्र राई, रवीन कोइराला लगायतलाई अगाडि बढाएको स्रोतले जनायो।
पाँचमध्येका अर्का नेता भट्टराई ५ पुसमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षले विघटनविरुद्ध गरेको केन्द्रीय आन्दोलन परिचालन कमिटीमा सचिव थिए।
यद्यपि, प्रधानमन्त्रीका रूपमा देउवालाई अगाडि बढाउने विपक्षी गठबन्धनको तयारीपछि वैशाखको ३० गते त्यसप्रति समर्थन नरहेको बताए।
त्यसअघि पनि उनी ओलीसँग मिलेर अघि बढ्नुपर्ने र एमाले एकता जोगाउनुपर्ने भन्दै आएका थिए। उनले २३ जेठमा ओलीले गरेको ६ बुँदे आह्वानसहितको एकता प्रस्तावलाई पनि सकारात्मक भन्दै टिप्पणी गरेका थिए। यसरी उनी अध्यक्ष ओलीका कदमहरूलाई समर्थन गर्न थालेका छन्।
यस्तै, नवौं राष्ट्रिय महाधिवेशनमा नेता नेपाल पक्षबाट महासचिव पदमा निर्वाचन लडेका सुरेन्द्र पाण्डे, उपमहासचिवमा निर्वाचित घनश्याम भुसाल र सचिव गोकर्ण विष्ट पनि विस्तारै ओलीनिकट भएका छन्। यसले गर्दा नेता नेपालले उनीहरूलाई विश्वास गर्न छाडेको ती नेतृले केन्द्रविन्दुलाई बताइन्।
यी नेताहरू भने कम्युनिस्ट आन्दोलन बचाउन र नेता कार्यकर्ताको पार्टी एकता होस् भन्ने भावनालाई सम्बोधन गर्न पनि ओली र नेपाल मिल्नुपर्ने बताउँदै आएका छन्। तर, यी नेताहरूबाहेकका माधवपक्षीय अन्य नेताहरू ओलीसँग अन्तरसंघर्ष गरेर एमालेमा बस्न नसकिने निष्कर्ष छ।
ओलीले एकताको नाममा झुक्याउने र भुलाउने गर्दै आएको नेता भीम रावलले बताउँदै पनि आएका छन्।





























प्रतिक्रिया