प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाको भूमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभा अन्तर्गतको समितिहरुको कामलाई निरन्तरता दिनुपर्ने र सिंगो राष्ट्रिय सभाको भूमिकालाई पनि प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका हुन् । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संविधानले दुई सदनात्मक व्यवस्था गरेको भएपनि प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभाको औचित्य नै नभएको जस्तो देखिएको बताइन्।
संविधानले राष्ट्रिय सभा सधैँ रहन्छ भनेको भएपनि कामले पनि सधैं रहेको जस्तो देखाउनुपर्ने उनले बताइन् । समितिले विपत अथवा संविधानको मौलिक हकसँग सम्बन्धित कुनै कानुनहरुको बारेमा छलफल गर्नुपर्ने उनले बताइन्।
यस्तै राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रिय सभा सदस्यहरुले पनि क्रियाशीलता बढाउनु पर्ने बताए। राष्ट्रिय सभा सदस्यहरु संसदको भूमिका भन्दा पनि बढी पार्टीको भूमिकामा बढी देखिएका कारण प्रभावकारीता हुन नसकेको उनले बताए । पार्टी सदस्य र संसद सदस्यको भूमिकामा स्पष्ट हुँदै सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरीले विधायन व्यवस्थापन समितिमा भएका सम्पूर्ण विधेयकको काम सकेर प्रभावकारी काम गरेको सन्देश अरु समितिहरुलाई दिनुपर्ने बताए। उनले सामाजिक व्यवहार सुधार ऐन र संक्रामक रोग ऐनलाई सदनमा पुर्याएर छलफल गर्नुपर्ने बताए।
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको आगामी बैठकले सामाजिक सुधार ऐन र संक्रामक रोग ऐन सम्बन्धी ऐनको विषयमा छलफल गर्ने बताए। समितिले क्रमशः प्रतिलिपि अधिकार ऐन, भूमी सम्बन्धी, सार्वजनिक खरिद ऐन र भ्रष्टाचारको सम्बन्धमा छलफल गर्ने पनि जानकारी दिए।
राष्ट्रिय सभाको आठौं अधिवेशन सुरु भएसँगै समितिहरु क्रियाशील हुन खोजेका छन् । राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको अधिवेशन छिट्टै अन्त्य हुने हो कि भन्ने आशंका पनि गरेका छन् ।





























प्रतिक्रिया