एमाले कार्यदल बैठक: विवाद समाधान हुने दिशामा, भोलिसम्म सहमति हुने विश्वास

एमाले कार्यदल बैठक: विवाद समाधान हुने दिशामा, भोलिसम्म सहमति हुने विश्वास


नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरुले पार्टीभित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा बसेको एमाले कार्यदलको बैठकपछि पार्टीभित्रको विवाद समाधान हुनेतर्फ अगाडि बढेको नेताहरुले बताएका हुन्। बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका प्रवक्ता तथा कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलभित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख भएको बताए। एमाले विवादलाई भोलिसम्म टुंग्याइने पनि उनले बताए।

त्यस्तै कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले पनि छलफल सकारात्मकरुपले अगाडि बढेको प्रतिक्रिया दिए। उनले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरुलाई ध्यान राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्दै कार्यदल टुंगोमा पुग्न लागेको बताए। आज साँझसम्ममा थप छलफल हुने र भोलि पुनः कार्यदलको बैठक बसेर एकताको लागि टुंगोमा पुर्याउने उनले बताए। 

कार्यदल बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्षबीच अविश्वासको खाडल कम भएको र विश्वासको वातावरण निर्माण भएको प्रतिक्रिया दिए। सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशील बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको व्यवस्थापन गर्ने र प्रतिनिधिसभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफुहरुले चाहेकै भाषामा सहमति खोज्न नजिक आइपुगेको उनले बताए। 

सोमबारदेखि नेकपा एमालेको कार्यदल सक्रिय छ। आजको बैठकमा धेरै कुरामा सहमति नजिक पुगेको भन्दै भोलिको बैठकले अन्तिम निष्कर्ष दिने नेताहरुले दाबी गरेका छन्।

Logo