असम्बन्धित निवेदन नलिन निर्वाचन आयोगलाई माओवादी केन्द्रको आग्रह

असम्बन्धित निवेदन नलिन निर्वाचन आयोगलाई माओवादी केन्द्रको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमाओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुले माओवादी पार्टी खारेजीको मागसहित निर्वाचन आयोग जानुलाई अवसरवादी, स्वार्थी , लालची र अनैतिक तत्वको संज्ञा दिएको छ।

माओवादी केन्द्रले झुटो र भ्रामक दुष्प्रचार गरि पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न, गराउन प्रयत्न गरेको देखिन्छ भन्दै विज्ञप्ति निकालेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले निर्वाचन आयोगमा निवेदन दिएको भन्दै त्यसलाई हाँस्यास्पदसमेत भनेको छ।’

असार २३ गते एमालेमा गएका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्रको दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्रले यसप्रति प्रतिक्रिया जनाएको हो।

विज्ञप्तिमा भनिएको छ,‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हाँस्यास्पद देखिन्छ । केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यसप्रकारको दुष्प्रचार गरि पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ।’

केन्द्रले संविधान, कानून, विधि, विधानविपरीत दुष्प्रचार गरिएको भन्दै माओवादी केन्द्रले नेता कार्यकर्ता तथा शुभचिन्तकलाई भ्रममा नपर्न आग्रहसमेत गरेको छ। त्यस्तै माओवादी केन्द्रले अनधिकृत तथा आयोगसँग बेसरोकार राख्ने निवेदन स्वीकार नगर्न पनि निर्वाचन आयोगलाई आग्रह गरेको छ।

त्यस्तै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले माओवादी केन्द्र परित्याग गरि एमालेमा पोइल गएकाहरुले दर्ता गरेको निवेदनको कुनै तुक नरहने बताएका छन्।

नेता पौडेलले कोरोनाका कारण अहिले कुनै पनि दलको महाधिवेशन हुन नसकेको हुँदा महाधिवेशन नगरेको भन्दै अरुको दललाई खारेज गर्नु पर्छ भन्दै निवेदन दर्ता गर्नु कुन नैतिकताले सकेको भन्दै प्रश्नसमेत गरेका छन्।

क्षणिक लाभका लागि पार्टी परित्याग गर्ने अनि पार्टीले कारवाही गर्दा पार्टीनै खारेज गर्नुपर्ने भन्दै हिड्नु नैतिक हिसावमा नसुहाउने उनले बताए।

यता नेकपा एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गर्दै ताकेता गरिरहेका छन्। 

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु बहादुर भवन पुगेर प्रमुख आयुक्त दिनेश थपलिया लगायतलाई भेटेर छिटो निर्णय गरिदिन अनुरोध गरेका हुन् । 

उनीहरुले गएको बुधबार मात्रै माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदनमा दिएका थिए। आयोगमा बुधबार ताकेता दिँदै नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोपसमेत लगाए।

उनले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताए। उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि उल्लेख गरेका छन्।

अहिले माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका नेताहरुले दल खारेजीको माग गर्न हालेको निवेदन निर्वाचन आयोगमा छ। निर्वाचन आयोगले भने निवेदन दर्ता भएको भएपनि हालसम्म कुनै निर्णय नभइसकेको जनाएको छ। दल खारेजी सम्बन्धी निवेदन आयोगको सचिवालयले हेर्ने भएको हुँदा केही दिनमै यसको निर्णय हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

अर्कातिर माओवादी केन्द्रले निवेदन दर्ता नगर्न भनि पठाएको पत्र बारे भने दल सम्बन्धी जो कसैले हालेको निवेदन पनि आयोगमा दर्ता हुने हुँदा आयोगले कसैले पत्र पठाएको भरमा निवेदन नलिने भन्ने नहुने प्रवक्ता श्रेष्ठले बताए।

Logo