स्थायी कमिटी बैठकमा गएनन् माधव पक्ष, ओलीलाई अध्यक्ष नमानेको न्यौपानेको भनाइ

स्थायी कमिटी बैठकमा गएनन् माधव पक्ष, ओलीलाई अध्यक्ष नमानेको न्यौपानेको भनाइ


एमालेको आन्तरिक एकतासम्बन्धी प्रस्तावलाई अनुमोदन गर्न भनेर अध्यक्ष केपी ओलीले बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित भएका छन्।

नेपालपक्षीय स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले ओलीले बैठकमा नबोलाएको पनि बताए।

‘हामीलाई बोलाएको पनि छैन, उनी (ओली) पक्षका स्थायी कमिटी सदस्यहरूलाई बोलाएका होलान्’, नेता न्यौपानेले केन्द्रविन्दुसँग भने, ‘एकताको लागि सहमति भएको छैन, ओलीले कसरी बैठकमा कसरी बोलाउँछ?’

ओलीपक्षका नेता तथा एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूलाई पनि बोलाएको बताएका थिए। तर, न्यौपानेले भने बैठकमा नबोलाएको र बोलाए पनि पार्टी एकता कायम हुने गरि सहमति नभएसम्म बैठकमा नजाने बताए।

पार्टी एकता कायम राख्न भन्दै गठन गरिएको १० सदस्यीय कार्यदलले एकताको प्रस्ताव तयार गरेको दाबी गरेको छ। 

सोही प्रस्तावलाई अनुमोदन स्थायी कमिटी बैठकले गर्ने नेता तामाङको भनाइ छ। यद्यपि, नेपाल पक्षका नेता न्यौपानेले भने त्यस्तो सहमति केही नभएको बताए। 

‘आज टुंगियो भनेर हल्ला हुन्छ, फेरि भोलि टुंगियो भनेर हल्ला हुन्छ, अनि भोलि बिहान टुङ्गिन्छ भनेर हल्ला हुन्छ तर टुङ्गिएको कहिल्यै हुँदैन’, न्यौपानेले बताए। उनले एकता नहुञ्जेलसम्म ओलीलाई अध्यक्ष मान्न नसकिने बताए।

जबकि, ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुन्। उनले नेता नेपाललाई नै पराजित गरेका हुन्।

Logo