सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रिएका छन्। एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन भइरहेको छ।
विरोध सभामा बोल्दै एमाले युवा नेता महेश बस्नेतले अदालतलाई घास खुवाएर फैसला ल्याएको बताएका छन्। उनले नेपाली कांग्रेस तथा विपक्षी गठबन्धनले फैसलामार्फत दोस्रो खिलराज रेग्मी जन्माउन खोजेको बताएका छन्।
उनले सर्वोच्चको फैसलाले देशलाई निर्दलीय शासन व्यवस्थातर्फ फर्काएको छ। सरकार र संसदको अधिकार सेटिङमा चलेका केही न्यायाधीशले हातमा लिएको उनले आरोप लगाए।
अदालतको फैसलाले देशलाई फेरि द्वन्द्वमा धकेलेको छ। ‘यसले ठूलो द्वन्द्व सिर्जना गर्छ, देश अब द्वन्द्वमा जान्छ’, बस्नेतले विरोध सभामा भनेका छन्।
सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएका छन्।
युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रदर्शन गरिरहेका छन्।































प्रतिक्रिया