नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई रिहाइ गर्न सर्वोच्च अदालतले सरकारको नाममा आदेश दिएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले वलीको मागअनुसार आदेश दिएको हो।
आदेशसँगै वली २ वर्षपछि छुट्ने भएका छन्। वलीविरुद्ध हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी मुद्दा लागेको छ।
यी मुद्दामा पक्राउ परेका उनलाई ०७६ जेठ १० गते जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
जिल्लाको उक्त आदेशविरुद्ध वलीले पुनरावेदन गरे पनि उच्च अदालत पाटनले आदेश बेरितको नभएको भन्दै सोही वर्षको माघ १६ गते सदर गरिदिएको थियो।
तर, कारागारमा रहँदै उनको मुटुमा समस्या देखिएपछि सहिद गंगालाल ह्रदयरोग केन्द्रमा उपचार गराएको र केन्द्रका डा. अभिषेक बस्नेतले समस्या देखिएको आज प्रमाणित गरेपछि इजलासले उक्त रिहा गर्न आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘अब निज निवेदक हेमन्तप्रकाश वलीको हकमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भएबमोजिम हुने गरी प्रस्तुत मुद्दामा हाल मुद्दा पुर्पक्षको लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला।’
नेकपाका उच्च तहका एक जना नेता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ २१ फागुनमा रिहाइ भएका थिए।
तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे समझदारीपछि उनी रिहा भएपनि हेमन्तप्रकाशसँगै माइला लामालगायत कारागारमै रहे।
लामा अझै कारागारमै छन्।































प्रतिक्रिया