नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ। एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् कक्षमा बैठक बस्न लागेको हो।
आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
गत असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो।
यसैबीच सरकारले आगामी साउन ३ गते सङ्घीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सो सिफारिश अनुसार साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्।
नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यस्तै एमालेको स्थायी कमिटी बैठक पनि आजै बस्दैछ।ललितपूरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटी बैठकको लागि माधव नेपाल र उनी पक्षका नेताहरुलाई पनि सूचना पठाइएको छ। यद्यपी असन्तुष्ट समूह बैठकमा सहभागि हुन्छ वा हुँदैन यकिन भएको छैन।





























प्रतिक्रिया