काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन् । घटना भएको तीन दिनसम्म पनि दोषी पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।
गत असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि सांघातिक हमला भएको थियो । आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही नगरे आन्दोलन गर्ने चेतावनी समेत प्राध्यापक संगठनहरुले दिएका छन् । विश्वविद्यालय प्रशासनले घटनालाई गम्भीर रुपमा लिएर दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पहल गर्नुपर्ने माग गर्दै संगठनहरुले उपकुलपति बास्कोटालाई ज्ञापनपत्र बुझाएका हुन ।
दिनदहाडै विश्वविद्यालयको हाताभित्र जघन्य आपराधिक घटना हुनु विश्व विद्यालय, प्राध्यापक, कर्मचारी र विद्यार्थीका लागि गम्भीर चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै उपकुलपति बाँस्कोटाले विश्वविद्यालय हाताभित्र प्राध्यापकमाथि आक्रमण हुनु दुःखद भएको बताए । दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने उनले प्रतिवद्धता समेत जनाएका छन् ।





























प्रतिक्रिया