नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गरेका छन्।
उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा रहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै देउवालाई मत दिन आह्वान गरेका हुन् । उनले आफ्नो पनि मत देउवालाई नै रहेको उल्लेख गरेका छन्।
‘‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु।’
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्। २८ असारमा सर्वोच्चको परमादेशले प्रधानमन्त्री बनेका देउवालाई नेकपा एमालेको २३ सांसदसहित १४६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए।
खनालले सर्वोच्च अदालतको फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा देउवाको नेतृत्वमा सरकार बनेको भन्दै यो सरकार दुई वर्षसम्म निर्वाध चल्नुपर्ने बताए।































प्रतिक्रिया