नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ।
आइतबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु माझ बोल्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएका हुन्।
उनले भने,–‘नेकपा(एमाले) को संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु चाहीँ पार्टीभित्र रहनुहुन्न। यो चाहीँ प्रष्ट नै हो।’
प्रवक्ता ज्ञवालीले एमालेले देउवा सरकारको विपक्षमा मतदान गर्ने पनि बताए। उनले भने,–‘हामीले अस्तिको बैठकबाटै निर्णय गरिसकेका छौँ। हामी प्रतिपक्षमा रहन्छौँ। सरकारलाई समर्थन गर्न सक्दैनौँ र सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्छौँ। यही कुरा हामीले पार्टीका सबै सांसदहरु र सम्भव भएका अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेका छौँ।’
प्रवक्ता ज्ञवालीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको पक्षमा नरहेको पनि जिकिर गरे। प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिन लागेको विषयले विभिन्न प्रश्न जन्माएको पनि उनको भनाइ छ।































प्रतिक्रिया