माधव पक्षका १० सांसद आखिरमा ‘ट्वीस्ट’ भएर किन देउवालाई मत दिएनन्?

माधव पक्षका १० सांसद आखिरमा ‘ट्वीस्ट’ भएर किन देउवालाई मत दिएनन्?


साउन ३ मा प्रतिनिधिसभाको बैठक सुरु हुन लागेको थियो। कोही नेता हर्षित मुद्रामा त कोही दुःखितजस्तो देखिन्थे। गेटमा रहेका दुई मर्यादापालकले गरेको नमस्कार फर्काउँदै संसद् कक्षभित्र प्रवेश गरिरहेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट चार बजेका लागि बैठक आह्वान भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा संसद् बैठक सुरु हुनुभन्दा करिब आधा घन्टाअगावै बैठक कक्षमा प्रवेश गरे।

सर्वोच्च अदालतको परमादेशले सत्ताच्युत भएका एमाले अध्यक्ष ओली पनि बैठक कक्षभित्र करिब १५ मिनेटअघि प्रवेश गरे। उनी बैठक कक्षभित्र प्रवेश गरेको फोटो सञ्चारकर्मीले खिच्न थाले। उनी मुसुक्क हाँसेर नमस्कार गर्दै भित्र पसे।

एमालेका ओलीनिकट नेताहरू हलभित्र प्रवेश गर्दा अनुहारमा चमक थिएन। सायद होला आफ्नै नेतृत्वको सरकारले दुई–दुई पटक जनताको जनमतले बनेको जननिर्वाचित संसद् विघटन गरेको भए पनि सर्वोच्चले त्यसलाई ब्यूँताइ दिएपछि उनीहरूलाई अप्ठ्यारो महसुस भएको हुनुपर्छ। 

त्यतिकैमा नेपाली कांग्रेस र माओवादीका नेताहरू प्रफुल्ल भएर  भित्र प्रवेश गरे।
तथापि, एमाले वरिष्ठ नेता माधव नेपालसहित उनी पक्षका नेताहरू भने दबाबमा देखिएका थिए।

प्रतिनिधिसभाको पहिलो बैठक सकियो। बैठकमा उपस्थित नेताहरू आ–आफ्नो समूह बनाई पूर्वपट्टिको चमेना गृहतर्फ लागे। त्यतिकैमा माधव पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, यज्ञराज सुनुवार, योगेश भट्टराई, गोकर्ण बिष्ट, सोमप्रसाद पाण्डे र स्वतन्त्र सांसद हृदयेश त्रिपाठी पनि खाजा खान चमेनागृहको हलमा प्रवेश गरे।

उनीहरूले उसिनेको मकै र चिया मगाए। उनीहरू हात हल्लाइ–हल्लाइ गफ गरिरहेका थिए। सचिव योगेश भट्टराई हातको इशाराले हुँदैन भन्ने अर्थमा कुरा राख्दै थिए। त्यहाँभित्रको आवाज स्पष्ट थिएन।

त्यतिकैमा उनीहरू बैठक कक्षतिर लागे। उनीहरूको ओलीनिकट सांसदहरूसँग पनि भेट भयो। तर, त्यहाँ बोलचाल भएन। कांग्रेस नेता मिनेन्द्र रिजालसहित अन्य नेताहरू पनि खाजा खान आइपुगे। सामान्य साक्षात्कारबाहेक केही भएन।

सभामुखले बैठकको जनाउ घन्टी बजाए। कांग्रेसका सांसद हस्याङफस्याङ गर्दै बैठक कक्षतिर प्रवेश गरे। 

जब सभामुखले विश्वासको मतको प्रकृया  अघि बढाए, पालैसँग नेताहरुले राष्टममा आएर बोल्न थाले। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिन अनुरोध गरे। एमालेका प्रवक्ता प्रद्रीप ज्ञवालीले श्रीमान् ५ हरुको आदेशबाट गठित सरकारलाई कसरी विश्वासको मत दिऊँ भन्दै प्रश्न गरे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको आदेशले ओलीको दम्भ तोडिएको भन्दै माओवादी केन्द्रले देउवा सरकारलाई विश्वासको मत दिने बताए। वक्तव्य राख्ने क्रममा प्रचण्ड र ज्ञवालीबीच जुहारी चल्यो। त्यति बेलासम्म माधव नेपाल पक्षका नेताहरू देउवालाई विश्वासको मत दिन आतुरझैं देखिन्थे। 

 एकाएक दुई ध्रुवमा विभाजित जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रोष्टमबाट शेरबहादुर देउवालाई विश्वासको मत दिने उद्घोष गरे। त्यसपछि माधव पक्षका नेताहरू झस्किए।

एमाले केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डे भन्छन्, ‘ठाकुर पक्षले देउवालाई मत दिन्छ भनेर हामीले कल्पना पनि गरेका थिएनौं, हामी त विश्वासको मत दिनै गएका थियौं। तर, एकाएक जसपाको ठाकुर पक्ष पनि जोडिएपछि हामी छक्क पर्यौं’

जसपाका अध्यक्ष ठाकुरले बोलिसकेपछि माधव पक्षका १० नेताहरू तथा कार्यदलका सदस्यहरूसमेतले बैठक कक्षमै छलफल गरे र, मत नदिइकन तटस्थ बस्ने निर्णय गरे।

बैठक सुरु हुनुभन्दा पहिले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिई सचिवालयमा बुझाएर बाहिरिसकेका थिए। त्यही भएर उनी त्यहाँ थिएनन्। त्यसबाहेकका माधव पक्षका स्थायी र केन्द्रीय गरी १० जना सांसद मत नदिने निचोडमा पुगे।

सांसद पाण्डेले भने, ‘स्थायी कमिटी सदस्य घनश्याम भुसालले ‘जसपा ठाकुर पक्षले पनि मत दिने भएपछि अब प्रतिनिधिसभा जोगियो, यो अब पूर्ण कार्यकाल चल्छ, हाम्रो आन्दोलन सफल भयो, अब हामी विश्वासको मत नदिऔं। बरु पार्टी एकता कायम गर्न लागौं, हामीले मत दिएमा एमाले फुट्छ’ भन्नुभयो। हामीले पनि त्यो कुरा सही हो भनेर मत नदिइ तटस्थ बस्ने निर्णय गर्यौं।’

हामीले माधव नेपालसँग पनि कुरा पुर्यायौं। तर, उहाँले मैले घात गर्नु हुँदैन भन्नुभयो। तपाईंहरू आफ्नो निर्णय गर्नुहोस्, म मेरो निर्णय गर्छु। म कसैलाई रोक्दिनँ, दबाब पनि दिन्नँ भन्नुभयो,’ पाण्डेले थपे।

मतदान सकियो। माधव समूहका १४ सहित ओली पक्षका आठ सांसदले पनि देउवालाई मत हाले।

यसरी देउवा १७ महिनाका लागि प्रधानमन्त्री बने। सभामुखले बैठक सकियो भने पनि माधव पक्षका १० सांसद जो संसद् छाडेर संसदीय दलको कार्यालयमा बसेका थिए, सँगै बाहिर निस्किए।

Logo