४३ औँ पुष्पलाल स्मृति दिवस आज मनाइँदै ,कम्युनिस्ट आन्दाेलन भने ओझेलमा

४३ औँ पुष्पलाल स्मृति दिवस आज मनाइँदै ,कम्युनिस्ट आन्दाेलन भने ओझेलमा


नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुप्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदै छ। दिवसका अवसरमा पुष्पलालको सम्झनामा नेकपा (एमाले)ले विविध कार्यक्रम गर्दैछ। 

विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनकाे शवसमेत नेपाल ल्याउन दिएको थिएन। विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्नका लागि उनले राजनीतिक यात्रा सुरु गरेका थिए। 

नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन्। उनले स्थापना गरेको नेकपा अहिले एमाले, नेकपा(माओवादी केन्द्र), नेकपा(माले), नेकपा(संयुक्त), नेमकिपा, नेकपा(क्रान्तिकारी माओवादी), नेकपा, नेकपा(माक्र्सवादी), नेकपा(मसाल) लगायत पार्टीमा विभाजित छ। 

पुष्पलालले आफू कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारस स्थापित नेपाली राष्ट्रिय काँग्रेस पार्टीको कार्यालय सचिव भएर काम गरेका थिए। पुष्पलालले विसं २००६ मा निरंजनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास (पुष्पलालको भनाइ अनुसार) दुर्गादेवी (मोतीदेवीसमेत)सित मिली नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए। 

कांग्रेस छाडेपछि चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्व युद्धबारे समेत उनले अध्ययन गरेपछि नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेकपा स्थापना गरे। विसं २००५ मा उनले माक्र्स एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को पहिलो पटक नेपाली भाषामा अनुवाद गरे। पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण गरिएको छ। 

त्यसको भूमिकामा उनले पूँजीवादी पार्टी सम्झौतापरस्त हुनाले प्रजातान्त्रिक क्रान्तिको नेतृत्व श्रमिक वर्गले गर्नुपर्ने र प्रजातन्त्रको चरित्र पनि चीनको जस्तो नयाँ खाले हुनुपर्छ भन्ने स्पष्टरुपले उल्लेख गरेका छन्। पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति नयाँ प्रजातन्त्रको बाटाेबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका छन्। 

नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्न उनको योगदान रहेको छ। नेपाल कम्युनिस्ट आन्दोलनमा पटक पटक कारागार परेका उनको सैद्धान्तिक दृढता, दूरदर्शिता, सिर्जनशीलता, क्रान्तिकारिता र व्यवहारिक नीति–निर्माण भुल्न सकिँदैन। 

प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका उनी विसं २००० मा घरबाट भागेर निस्की पाल्पा र भैरहवा क्षेत्रमा पुगेर राणाशाही विरोधी प्रचारप्रसार गर्नमा सक्रिय भए। 

विसं २००७ को जनक्रान्तिमार्फत सामन्तवादको पूर्ण उन्मूलन गर्नुपर्ने अभियानमा लागेका पुष्पलाल क्रान्तिलाई अधुरै राखी कांग्रेस, राजा, राणा र भारतबीच दिल्ली सम्झौता भएपछि निराश बनेका थिए। विसं २०१५ मा भएको निर्वाचनबाट स्थापित संसद्को हत्या गरिएपछि त्यसको पुनःस्थापनामा लागेका पुष्पलाल प्रजातन्त्रवादी र साम्यवादीको संयुक्त जनआन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना गर्न सकिने मान्यता राख्थे। 

संगठन कमजोर भए तापनि राजाको निरंकुशतासामु कहिल्यै नझुकेका उनले विसं २०३३ मा ‘राष्ट्रिय मेलमिलाप नीति’ भन्दै नेपाली कांग्रेसले नेपाल फर्कन आग्रह गर्दा त्यसको विरोध गरे। नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय छन्। 

राष्ट्रिय कांग्रेसमै हुँदा पुष्पलालले माक्र्सवादी साहित्यको अध्ययन थालेका थिए। त्यसबेला नै उनले कम्युनिस्ट घोषणापत्र, सोभियत रुसमा व्यक्ति र समाज, माक्र्सवाद के हो, चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी, गाउँका गरिबलाई अपिलजस्ता पुस्तक नेपाली भाषामा उल्था गरेका छन्। उनका नेपाली इतिहास, नौलो जनवाद, नेकपासम्बन्धी कृति प्रकाशित छन्। 

तर पछिल्ला दिनमा कम्युनिस्ट आन्दाेलनकाे मूल मर्म बिर्सेर विपरित दिशामा कम्युनिस्टहरू लाग्दै गएकाे आभास यतिबेला ओझेलमा परेकाे भन्दै नागरिक भने निराश भएका छन्।

Logo