कांग्रेसमा १ सय ७६ क्रियाशील सदस्य ‘तेस्रोलिङ्गी’

कांग्रेसमा १ सय ७६ क्रियाशील सदस्य ‘तेस्रोलिङ्गी’


रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य रहेको विवरणसहितको प्रतिवेदन बुझाएको छ।

विवरणअनुसार ६ लाख ५३ हजार ८३८ जना क्रियाशील सदस्य पुरुष छन्। एक लाख ९९ हजार ९७ जना महिला छन्। १ सय ७६ जना तेस्र्रोलिङ्गी रहेका छन्। समितिले प्रतिवेदनमा तेस्रोलिङ्गीलाई ‘अन्य’ भनेको छ।

समितिका अनुसार निर्धारित समयमा क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कूल संख्या आठ लाख ५२ हजार ७११ जना छन्।

केही जिल्ला र विदेशस्थित जनसम्पर्क मञ्चहरूले पठाएको क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण भने समितिले समावेश गर्न बाँकी छ।

समावेश गर्दा करिब एक लाख सदस्य बढ्ने समितिले जनाएको छ। १३ औं महाधिवेशनमा कांग्रेसको क्रियाशील सदस्य चार लाख ८० हजार मात्रै थियो। 

तर, आसन्न १४ औं महाधिवेशनमा भने ठीक दोब्बर सदस्य हुने भएको छ। सदस्य भएकामध्ये चार लाख ४३ हजार ६७८ जना नयाँ र चार लाख ९ हजार ३३ जना पुरानै सदस्य हुन्।

यस्तै कांग्रेसमा युवाको आकर्षण बढ्दै गएको देखिएको छ। समितिको प्रतिवेदनमा २६ देखि ४० वर्षसम्मका २ लाख ४९ हजार ७ सय ७४ जना छन्।

१६ देखि २५ वर्ष उमेर समूहका ४० हजार चार सय २७ जना, ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार दुई सय ३४ जना, ६१ देखि ७५ वर्ष उमेरका ८३ हजार १० जना र ७५ वर्षभन्दा माथिका ११ हजार ७ सय ८२ जना क्रियाशील सदस्य छन्।

जातिगत आधारमा क्रियाशील सदस्य पाउनेमा सर्वाधिक खसआर्य तीन लाख ६७ हजार ६ सय ११ जना, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, मधेशी ९५ हजार १ सय ४१ र दलित ४५ हजार चार सय १७ जना रहेका छन्।

थारूतर्फ २७ हजार ६ सय १५, मुस्लिम १६ हजार ९ सय ७० जना, पिछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना र अपांगता भएकातर्फ दुई सय १ जना रहेका छन्।

यस्तै, प्रदेशगतरूपमा क्रियाशील सदस्यता सर्वाधिक प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६ रहेका छन्।

बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना र कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ जना क्रियाशील छन्।

यिनै क्रियाशील सदस्यहरूलाई वडा अधिवेशनमा मताधिकार हुन्छ। क्रियाशील सदस्यबाटै क्षेत्रीय प्रतिनिधि चुनिने र महाधिवेशनका लागि प्रतिनिधि बन्ने व्यवस्था कांग्रेसमा छ। महाधिवेशन प्रतिनिधिहरूले नै कांग्रेसमा केन्द्रीय कार्य समिति चयन गर्ने हुन्छ।

Logo