काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कडा जवाफ दिएका छन् । बुधबार सल्लाहकार थापाले डा. भट्टराईले गरेको ट्वीटलाई लक्षित गर्दै कडा जवाफ दिएका हुन् । जातीय राज्य भट्टराईको नेतृत्वमा गठित जनसरकारको भड्कावपूर्ण अभ्यास मात्रै भएको थापाको आरोप छ ।
‘जनयुद्ध जातीय रंगविरंगमा प्रवेश गर्नुअघि नै सुरेश वाग्ले र लली रोकाले जीवन उत्सर्ग गर्नुभएको थियो । अब डा. बाबुराम भट्टराईले संझिनसमेत छाड्नुभएछ । जातीय राज्य त तपाईंको नेतृत्वमा गठित जनसरकारको भड्कावपूर्ण अभ्यास मात्रै थियो । तपाईंको त्यो भड्कावले हाल जनता समाजवादी पार्टीको बिसौनीमा आराम गरिरहेको छ, होइन र ?’–उनले सामाजिक सञ्जालमा भनेका छन्–‘अनि आफू कम्युनिष्ट आन्दोलन छाडेर त्यति पर पुगेपछि संझना बिर्सना लललल…जस्तो किन गर्नुभएको होला महोदय ?’
डा. भट्टराईले प्रदेशहरूको नामाकरणप्रति असन्तुष्टि जनाउँदै बुधबार बिहान ट्वीट गरेका थिए । उनको ट्वीटमा उल्लेख गरिएको थियो–‘हिजो मगरात, तमुवान, तामसालिङ, नेवा स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो मरेर शहीद हुनेहरू हो बाँचेर त हेर । बाँच्न झन् गाह्रो छ । सरि लली रोका, सुरेश वाग्ले ।’
प्रदेश ५ को नाम लुम्बिनी दुई तिहाइ मतले पारित भएको भोलिपल्ट डा. भट्टराईको त्यस्तो ट्वीट आएको हो । मंगलबार प्रदेश सभामा भएको मतदानमा जसपाका चार जना नेताले प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।































प्रतिक्रिया