विदेश नीतिबारे सबै दलहरुको साझा दृष्टिकोण बनाउन नेता प्रदीप गिरिको अपिल

विदेश नीतिबारे सबै दलहरुको साझा दृष्टिकोण बनाउन नेता प्रदीप गिरिको अपिल

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विदेश नीतिबारे दलहरुको साझा दृष्टिकोण बनाउन जरुरी रहेको आवश्यकता औंल्याएका छन्। अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग उठिरहेका बेला उनले उक्त आवश्यकता औंल्याएका हुन्।

नेकपा एमालेका सांसद डा. भीम रावलले शुक्रबार पनि प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै हुबहु एमसीसी पास हुन नहुने बताएका थिए।

डा. रावलले संसदमा एमसीसी परियोजनाको पूर्ण कपि उपलब्ध गराउन पनि माग राखेका थिए । त्यसैको प्रतिउत्तरमा सांसद गिरीले विदेश नीतिबारेमा दलहरुको साझा दृष्टिकोण बनाउन जरुरी रहेको आवश्यकता औंल्याएका हुन्।

‘पहिले हामी साझा दृष्टिकोण बनाऔं, भारतप्रति, चीनप्रति, अमेरिकाप्रति,’ सांसद गिरिले संसदको विशेष समयमा भने, ‘अनि सन्धि खारेज गर्ने, के गर्ने, के नगर्ने, को राख्ने, को नराख्ने, यो राष्ट्रिय नीतिको सवाल हो।’

उनले सबै दलहरु साझा विदेश नीतिप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिए। ‘जबसम्म दलहरु साझा विदेश नीतिप्रति प्रतिबद्ध हुँदैनन्, तबसम्म समस्या रहन्छ’, उनले भने, ‘हामीमध्ये एकअर्कालाई तल देखाएर मुखको तितो पोख्छौं।’

उनले नेपालीले ‘माल पाए पनि चाल नपाएको’ टिप्पणी गर्दै अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले स्वदेशमै भएको सम्भावनाबारे गम्भीररुपमा बुझ्न नचाहेको जिकिर गरे। त्यस्तै नेता प्रदीप गिरिले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामनासँगै चेतावनी दिएका छन्। 

गिरिले यो संविधान र गणतन्त्र नै मास्ने प्रयास असफल बनाएर विशेष अवस्थामा देउवा सरकार आएको भन्दै उनलाई सत्ताभोगका लागि मात्र सरकारमा बस्ने छुट नभएको बताए। 

‘म यहाँ शुभकामनासँगै प्रधानमन्त्रीजीलाई सानो कुरा सम्झाउँन उभिएको हुँ,’ गिरिले भने, ‘०६२÷६३ पछिको सरकारमा हाम्रा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा विस्तृत शान्ति सम्झौता भएको थियो, अन्तरिम संविधान बनेको थियो । त्यसका हस्ताक्षरकर्ता अहिले पनि यहाँ हुनुहुन्छ ।’ उनले त्यसरी गणतन्त्र ल्याउनेहरु नै अहिले पनि संसदमा भए पनि जनताले भने परिवर्तनको महसुस गर्न नसकेको बताए। 

‘गणतन्त्र आएपछि पनि किन लागेन नेपाली जनतालाई हाम्रो पालो आएछ?,’ गिरिले प्रश्न गरे,‘चप्पल लगाउने नागरिकलाई किन लागेन अब त परिवर्तन भएछ ?’उनले आफ्नो प्रश्न प्रधानमन्त्री बनेका शेरबहादुर देउवासँगै अरुलाई पनि भएको बताए।

Logo