नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनु पर्नेमा जोड दिएका छन्।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन्।
“पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानु पर्छ।” बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भने, “अब ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो।” उनले १० बूँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि स्पष्ट पारे।
नेता रघुजी पन्तले आज अपरान्ह बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए। उनले भने, “हाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भयो।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह पार्टीको स्थायी समिति बैठक बोलाएका छन्। त्यसमा माधव नेपाल पक्ष सहभागी हुने, नहुनेबारे मौन देखिएको छ। नेपाल पक्षले पार्टीभित्र दुई अध्यक्षको व्यवस्था हुनु पर्ने प्रस्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्य दलले जुटाएको १० बूँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनु पर्ने अडान राख्दै आएको छ।































प्रतिक्रिया