गृहमन्त्री बालकृष्ण खाणले महाकाली नदी पार गर्ने क्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानवीन समिति गठन गरेको बताएका छन्।
गृहमन्त्री खाणले सो घटनाका सम्बन्धमा छानवीन समितिले दिएको प्रतिवदेनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले भने, “छानवीन समितिले घटनास्थलमै गएर प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानवीन गर्नेछ।” सरकारले सो घटना भएलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानवीन समिति गठन गरेको थियो । टोलीलाई १० दिनको समय दिइएको छ ।
सो घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे एमाले सांसद खगराज अधिकारीले अपराधिक ढंगले धामी नदीमा बपत्ता भएको घटनालाई सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाए । एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाणले नदीमा वेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गरेको भन्दै आक्रोश व्यक्त गरे । उता काँग्रेस सांसद गगन थापाले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाणको ध्यानाकर्षण गराए ।
सांसदहरुको जवाफमा गृहमन्त्री खाणले छानवीन समितिको प्रतिवेदन नआई सरकारले थप बोल्न नमिल्ने बताए ।































प्रतिक्रिया