माधव नेपाललाई नयाँ पार्टी खोल्न क-कसको दबाब?

माधव नेपाललाई नयाँ पार्टी खोल्न क-कसको दबाब?


नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई नयाँ पार्टी गठन गर्न दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिन भन्दै वरिष्ठ नेता नेपाललाई नयाँ पार्टी खोल्न उनी निकट सांसद र केन्द्रीय सदस्यहरूले दबाब दिएका हुन्।

स्रोतका अनुसार ३ साउनमा पार्टीको ह्वीप उल्लंघन गरेर ‘फ्लोक्रस’ गरेका २२ जना सांसदले कुनै पनि अवस्थामा केपी ओलीको नेतृत्वमा नजाने भन्दै नेपाललाई नयाँ पार्टी गठन गर्न प्रक्रिया बढाउन दबाब दिइरहेका छन्।

नेता नेपाल निकट स्रोतका अनुसार देउवालाई ३ साउनमा विश्वासको मत दिने प्रायः सबै सांसदले पार्टीबाट अलग हुनुपर्ने वा ओलीलाई कारबाही गर्ने गरी पार्टीमा दर्बिलो स्थान बनाएर फर्किनुपर्ने राय राख्दै आएका छन्। 

‘हामीलाई पार्टीमा फर्किन गाह्रो होइन, हामी फर्किन तयार छौं। तर, फेरि दम्भी, संविधान मास्ने खेलमा लागेका व्यक्तिको पछि लाग्दा हाम्रो आन्दोलन सखाप हुन्छ, केपी ओलीलाई हिरो बनाउन किन हामी उनीसँगै जाने?,’ ती नेताले केन्द्रबिन्दुसँग भने।

नेपाल समूह अहिले चार रणनीतिका साथ अगाडि बढेको छ। स्रोतका अनुसार नेपाल पक्ष पहिलो त केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत पुर्याएर केपी शर्मा ओलीलाई पार्टीबाटै हटाएर एमाले र सूर्य चिन्हसहित नेतृत्व गर्न चाहन्छ। तर, अहिले नै त्यो असम्भव नभए पनि केही महिनामै त्यो पनि सम्भव हुने माधव निकट एक नेताले दाबी गरे।

 ‘केपीको अहंकार र घमण्डले सबै आजित छन्, केही पाइन्छ कि भनेर हिजो केही सांसद पछि लागे होला। तर, सरकारबाट अलग भएपछि सबैले केपी ओलीलाई एकएक गर्दै छाड्छन्,’ ती नेताले भने। 

अर्को, पहिले रणनीतिलाई लामो समय लाग्ने हुँदा अर्को रणनीतिको बारेपनि छलफल भइरहेको स्रोतको दाबी छ।

दोस्रो रणनीति भनेको तत्काल सरकारमा सहभागी बन्न र केपीबाट छुट्कारा पाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याएर पार्टीबाट अलग हुने नै हो। त्यो विकल्प चाहिँ छोटो र छिटो सम्भव हुने विकल्प हो।

अहिले  माधव नेपालसँग रहेका सांसद २२ जना मात्र हुन्। १० जना भने अझै पार्टी एकता कायम गर्न लागिपरेका छन्। 

स्रोतका अनुसार पार्टी अलग हुने भयो भने १० जना नै माधव नेपालतिरै फर्कन्छन्। ‘त्यो समेत जोड्दा ३२ हुन्छ, चाहिएको ४८ जना सांसद हो, त्यति भयो भने अहिले हाम्रो केन्द्रीय कमिटीमा ४० प्रतिशत बढी छ, हामीलाई अब नयाँ पार्टी गठन गर्न १६ सांसद आवश्यक छ। तर, ओली निकटका ३० जना हामीसँग आउन इच्छुक हुनुहुन्छ, त्यसैको लागि हामीले केन्द्रीय कमिटीको बैठक बोलाएका हौं,’ माधवनिकट ती नेताले थपे।

तेस्रो रणनीति भनेको सांसदबाहेकका र सांसद भए पनि कारबाहीमा नपर्ने सांसद–गैरसांसदलाई सरकारमा सहभागी गराई सरकारलाई सहयोग गर्ने र आन्तरिक तयारीमा लाग्ने पहिलो रणनीति समात्ने वा दोस्रो समात्ने भन्ने हो। त्यसरी सरकारमा गए सांसद कारबाहीमा पनि नपर्ने पार्टीभित्र बसेर खेल्न पनि पाइने स्रोतले जनायो।

अर्को चाहिँ, बृहत् कम्युनिष्ट एकता गर्ने गरी पार्टीबाट अलग हुने। सांसद पद गए पनि ओलीबाहेक माओवादी र जसपाबीच पार्टी एकिकरण गरेर आगामी चुनावमा पहिलो पार्टी बन्ने गरी अघि बढ्ने तयारी रहेको स्रोतले जानकारी दियो।

त्यही भएर ओली–नेपालबीच भनिएको भेट पनि अनिश्चित बन्दै गएको छ। तर, नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको भेट भने बाक्लिएको छ। माधव नेपाल समूहलाई ओलीभन्दा प्रचण्ड कम्फर्टेबल हुने भएर पनि पछिल्लो समय उनीहरूबीच सामीप्यता बढेको हो।

त्यसैकारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपाललाई ओलीसँग मिल्नेबाहेकका अरु विकल्पमा लाग्न सुझाव दिएको स्रोतको दाबी छ।

Logo